पहिलो प्राथमिकतामा मर्जर गर्न निर्जीवन बीमाका सीईओ र सञ्चालकलाई बीमा समितिको निर्देशन « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

पहिलो प्राथमिकतामा मर्जर गर्न निर्जीवन बीमाका सीईओ र सञ्चालकलाई बीमा समितिको निर्देशन



काठमाडौं । नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरेको छ । बिहीबार पूँजी वृद्धि सम्बन्धी पेश गरिएका योजनाका बारेमा बीमा समितिले निर्जीवन बीमा कम्पनीका सीईओ, अध्यक्ष तथा संस्थापक शेयरधनीहरुसँग छलफल गरेको हो ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा सीईओलाई पूँजी वृद्धि गर्न धेरै अप्सन रहेकाले वृद्धि गर्न सकिने बताएको छ । पूँजी वृद्धि गर्ने विभिन्न अप्सनमध्ये मर्जर प्रक्रियालाई जोड दिन बीमा समितिले निर्देशन दिएको छलफलमा सहभागी एक सीईओले अर्थपथसँग बताए । 

‘पूँजी वृद्धिका लागि बोलाएको हो । पूँजी वृद्धि गर्न धेरै अप्सनहरु छन् । त्यसमध्ये मर्जर पनि हो । डाइरेक्ट्ली मर्जरमा जान निर्देशन नै दिनुभयो । फोर्सफूल्ली मर्जरमा जान भन्नुभयो ।’ छलफलमा सहभागी सीईओले भने, ‘बीमा कम्पनीको क्षमता पुगेको छैन् । रिटर्न पनि छैन् । त्यसैले मर्जर गर्दा सजिलो हुन्छ । पहिलो प्राथमिकतामा मर्जर गर्न निर्देशन दिनुभयो ।’  

छलफलमा सहभागी अध्यक्षहरूले समय थोरै भएको र रिजर्भमा भएको रकमलाई परिचालन गर्न दिनुपर्ने माग गरेका छन् । उनले भने, ‘अध्यक्षज्यूहरूले समय पनि थोरै भयो । रिजर्भमा भएको रकम पनि चलाउन दिनुपर्छ । अहिलेको सरकारले बढाउने भन्छ । अर्काे सरकार आएपछि घटाउन भन्ला । यसको ग्यारेण्टी दिनुपर्छ, भन्नुभयो ।’  जवाफमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा थप पूँजी नबढाउने ग्यारेण्टी दिएका थिए । एउटा प्रक्रिया बनाएर अघि बढ्ने अध्यक्ष सिलवालले विश्वास दिलाए ।

छलफलमा इन्स्योरेन्स कम्पनीहरूबाट उपस्थितले भने पूँजी वृद्धि गर्न बाध्यकारी बनाएको गुनासो गरेका थिए । ‘हाललाई एक वर्षको समय दिएका छौँ । धेरैको व्यावसायिक योजना अनुसार बनाएको प्लान आएको छैन् । कोही मर्जर जाने उत्सुक भएको हामीले पाएका छौँ । तपाईँहरूको ठोस प्लान आओस् । कथम कदाचित पुग्ने भएन भने बीमा समितिले सहज बनाउँछ ।’ बीमा समितिका अध्यक्ष सिलवालले भने । 

बमा समितिले एक कम्पनीबाट ३ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो । छलफलमा ५० जनाभन्दा धेरैको उपस्थिति रहेको थियो । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सञ्चालक समिति अध्यक्ष र संस्थापक शेयरधनीहरुलाई छलफलका लागि बोलाएको थियो ।

बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धिका लागि योजना पेश गर्न गत चैत १० गते निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनुपर्ने छ । 


प्रतिक्रिया दिनुहोस्