कानुन विपरित हिमालयन रि ले पारित गर्यो प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तर कम्पनीको पाहिलो विशेष साधारण सभाले नियम विपरित एउटा प्रस्ताव पारित गरेको छ ।
कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर प्रिमियममा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न कम्पनीको सभाले नियम विपरित रहेको उक्त प्रस्ताव नियम पारित गरेको हो ।
रिइन्स्योरेन्स सञ्चालन गर्न ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको कम्पनीले भ्रमको खेति त गरेको छ नै कानुन पनि उल्लङ्घन गरेको छ । करोडौं रुपैयाँ आर्थिक चलखेल गरेर रिइन्स्योरेन्सको लाइसेन्स पाएको हिमालयन रिले नियम विपरित कार्य गर्न शुरु गरेको हो ।
प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि न्युनतम मापदण्ड पुर्याउनु पर्ने हुन्छ । तर कम्पनीले कुनै मापदण्ड नै पुर्याएको छैन् । हिमालयन रि सञ्चालनमा आएको एक बर्ष पनि पुगेको छैन् । कम्पनीले प्रचलित कानून बमोजिम प्रिमियममा आईपीओ निष्काशन गर्न पाउँदैन ।
कम्पनी ऐनको दफा २९ को उपदफा १ मा प्रिमियममा शेयर निष्काशन गर्न पाउने व्यवस्था मिलाएको छ । तर सोही दफाको उपदफा (४) मा प्रिमियममा शेयर निष्कानश गर्नका लागि ३ वर्षको लेखा परीक्षण गरेको विवरण पेश गर्नुपर्ने भनिएको छ । जबकी कम्पनी सञ्चालनमा आएको एक बर्ष पनि पुगेको छैन् ।
साथै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले प्रिमियममा आईपीओ जारी गर्न विभिन्न मापदण्ड तोकेको छ । उक्त नियमावलीको २०७३ को दफा ९ को उपदफा २ मा कारोबार गरेको पुरा १ आर्थिक बर्षको लेखापरिक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेपछि साधारणसभा बोलाउनु पर्नेछ । सोही नियमावलीमा प्रिमियमममा शेयर निष्कासन गर्नका लागि कम्पनीले ३ वर्ष खुद नाफामा हुनुपर्ने लगायतका व्यवस्था गरेको छ । तर कम्पनीले कानुनमा भएका कुनै पनि मापदण्ड नै पुर्याएको छैन् ।
तर यस विषयमा नियामक निकाय भने देखेर पनि नदेखे जस्तै गरिरहेका छन् । नियामक निकायमा नै कम्पनीका संस्थापकहरुको पकड भएकाले कारवाही तर परै जावस सेचत पनि गर्न सक्दैन् । कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको ७.१५ प्रतिशत र नेपाल बैंकको ७.१५ प्रतिशत गरी कूल १४.३० प्रतिशत लगानी रहेको छ । बाँकी अन्य ठूला धनाढ्य ब्यक्तिहरुको लगानी रहेको छ ।