पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित गर्न रिलायन्स लाइफको विशेष साधारण सभा असार २० गते
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असार २० गते काठमाण्डौको शंखमुस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे विशेष साधारण सभो बोलाएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाबिष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
इन्स्योरेन्सको सभाले पूँजी बृद्धिको आवश्यकतालाई देष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने प्रयोजनाका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सो को सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने लगायत सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असार १० गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।















