अर्थमन्त्री शर्माको पहिलो निर्णय: निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने बजेटमा उल्लेख छ ।
राजश्व सचिव कृष्णहरि पुष्करले शार्मालाई स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यान्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए ।