आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सातवटा प्रदेशका विभिन्न आठ स्थानमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।

प्रदेश १ मा सुनसरी चक्रघट्टिमा आँखा शिविर कार्यक्रम गरिएको थियो । त्यस्तै मधेश प्रदेशमा बारा, कलैयामा दन्त शिविर सञ्चालन गरिएको थियो । त्यस्तै बागमति प्रदेशमा चितवन, नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर कार्यक्रम गरिएको थियो । उक्त शिविरमा विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा शिविर कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा लमजुङको सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ । लुम्बिनी प्रदेशमा गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर संचालन गरिएको छ । कर्णाली प्रदेशमा सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीस्थित टिकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ ।

यस अघि गत शुक्रवार मुलुकभर गरिएको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिवार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आई. एम. ई. लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको छ । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्