युनियन लाइफको जीवन बीमा कोष ११ अर्ब माथि, खुद नाफा भने ओरालो

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आकर्षक सुधार आएको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४७.२० प्रतिशतले बढेर ११ अर्ब २७ करोड ४२ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ६५ करोड ९४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा आइपुग्दा कम्पनीको मुनाफामा भने भारी गिरावट आएको छ । समीक्षा अवधिसम्म कम्पनीले १ करोड २७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस कम्पनीले १३ करोड ३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ९०.२३ प्रतिशतले घटेको हो ।
लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढे पनि नोक्सानी व्यवस्थाका लागि कम्पनीले २० करोड ६९ लाख रुपैयाँ छुट्याएको छ । जसले यसको नाफामा प्रभाव परेको हो । असार मसान्तसम्म कम्पनीको जगेडा कोष ४०.४२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जगेडामा ७६ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
खुद बिमा शुल्क आर्जन १५.२८ प्रतिशतले बढेर ७ अर्ब ५९ करोड ४२ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ६ अर्ब ५७ करोड ८८ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ, खुद दाबी भुक्तानी ४६.९१ प्रतिशतले बढेर २ अर्ब ७४ करोड ९५ लाख ५९ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ८.१० प्रतिशतले घटेर ९६ करोड ६७ लाख १८ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ८ पैसा छ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुँरास लाइफसँग मर्जर प्रकृयामा रहेको छन् ।