दाबी नभएको बीमा रकम कहाँ जान्छ ? भुक्तानी लिन नआएको बीमा रकम कति छ ?

काठमाडौं । संघिय संसदको प्रतिनिधि सभाबाट पारित भएको बीमा विद्येयकमा बीमित हित संरक्षण कोषको व्यवस्था गरिएको छ । सो कोषमा भुक्तानी नभएका वा दाबी लिन नआएको बीमा रकम जम्मा गरिनेछ । विद्येयकमा भएको व्यवस्था अनुसार कोषमा प्राधिकरणले छुटटाएको निश्चित रकम पनि राख्न सकिने छ भने जीवन बीमा कम्पनीमा दाबी परेको तर भुक्तानी लिन नआएको रकम जम्मा गरिने व्यवस्था छ ।
बीमा पोलिसी खरिद गर्ने बीमितले पोलिसीमा भएको व्यवस्था अनुसार घटना घटेमा वा पोलिसी परिपक्क भै सके पछि कम्पनीमा पुगेर दाबी बीमा रकम लिनुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको हकमा भने पोलिसी परिपक्क भै सके पछि बीमितलाई सुचना दिनुपर्नेछ । त्यस्तै, बीमितको हकवालालाई सम्पर्क गर्नुपर्नेछ । तर, कतिपय अवस्थामा पोलिसी परिपक्क हुँदा पनि बीमित बीमा रकम लिन जाँदैनन् । कम्पनीले बीमित सम्पर्कमा नआउदा भुक्तानी गर्न पाउँदैनन् । यस्तो अवस्थामा पनि कम्पनीले सो रकम प्रयोग गर्न पाउँदैनन् । तर, हालसम्म यस्तो रकम कम्पनीले कहाँ राख्ने गरेका छन् समितिलाई नै थाहा छैन ।
यतिसम्म की यसरी भुक्तानी नभएको बीमा रकम कति छ भन्ने समेत बीमा समितिसँग तथ्यांक छैन । तसर्थ नयाँ विद्येयकमा मन्त्रालयले बिमित हित संरक्षण कोषको व्यवस्था गरेको छ । यो अन्तराष्ट्रिय अभ्यास हो । बीमित बर्षो पछ बीमा रकम लिन आए पनि कम्पनीले भुक्तानी गर्नुपर्ने हुन्छ ।