१५ लाखले पाए नि:शुल्क स्वास्थ्य बीमा सुविधा

काठमाडौं । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सुविधा १५ लाखले निशुल्क पाएका छन् ।
स्वास्थ्य बीमा बोर्डले सरकारले तोकेको लक्षित वर्गलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । सरकारको नीति अनुसार विभिन्न सात प्रकारका लक्षित वर्गलाई बोर्डले एक लाख रुपैयाँ बीमांक रकम बराबरको स्वास्थ्य बीमा गरिदिएको हो ।
लक्षित वर्ग अन्तर्गत महिला स्वास्थ्य स्वयम सेविका, एचआईभि संक्रमित, कुष्ठरोगी, एमडिआर टिबी भएका मानिस, पूर्ण अशक्त अपांग, जेष्ठ नागरिक र अति गरिब वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमा बोर्डले निशुल्क स्वास्थ्य बीमा सेवा प्रदान गरेको हो ।
बोर्ड स्थापना भएको समय देखि गत असारमसान्तसम्म १४ लाख ३२ हजार ३८१ ज्नाले ३६ करोड ४३ लाख रुपैयाँ बीमांक बराबरको निशुल्क बीमा सुविधा पाएका छन् । बीमा गरिएका लक्षित वर्गमध्ये चार लाख दुई हजार २९९ जनाले बोर्डबाट स्वास्थ्य उपचार सेवा समेत लिएका छन् । महिला स्वास्थ्य स्वयंम सेविका र उनका परिवालाई भने सरकारले प्रिमियममा ५० प्रतिशत छुट दिएको छ ।
शतप्रतिशत छुट दिएर बीमा गरिएका लक्षित वर्गको प्रिमियम रकम बोर्डलाई सरकारले भुक्तानी गर्नुपर्नेछ । तर, सरकारले आजसम्म कुनै प्रिमियम शुल्क भुक्तानी नगरेको बोर्डका कार्यकारी प्रमुख डा.दामोदर बस्यौलाले बताए । “लक्षित वर्ग छुट्टाएर निशुल्क बीमा गर्ने सरकारकै योजना हो । बीमा गरे बापतको रकम पनि सरकारले भुक्तानी गर्ने भनिएको हो । तर, आजसम्म रकम निकासा भएको छैन । हामीले यसको लागि बजेटबाट आएको रकम र कोषको रकम प्रयोग गरी रहेको छौ ।
स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार गत असारमसान्तसम्ममा सात लाख २७४ जना जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा भएको छ । बोर्डले ७० बर्ष पुगेको जेष्ठ नागरिकको एक लाख रुपैयाँ बीमांक बराबरको निशुल्क बीमा गर्दै आएको छ ।
बीमा गरिएका जेष्ठ नागरिकमध्ये दुई लाख २० हजार ५८७ ले स्वास्थ्य बीमा सुविधा प्रयोग गरेका छन् । बोर्डको तथ्यांक अनुसार सो संख्याका जेष्ठ नागरिकले दुई अर्ब ५६ करोड रुपैयाँ बराबरको बीमा सुविधा लिएका छन् ।
त्यस्तै, धेरै सुविधा लिने मध्येमा अति गरिब वर्ग दोस्रो नम्बरमा परेको छ । सरकारले अति गरिबको परिचय पत्रको आधारमा बोर्डले चार लाख ९२ हजार ४०५ अति गरिबको निशुल्क स्वास्थ्य बीमा गरेको छ । जसमध्ये एक लाख ५६५ जनाले ४९ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रयोग गरेका छन् ।
एक लाख आठ अजार ५७ पूर्ण असक्त अपांगले निशुल्क स्वास्थ्य बीमा पाएको बोर्डको तथ्यांकमा छ । जसमध्ये ३१ हजार ८ जनाले २३ करोेड २७ लाख रुपैयाँ बराबरको बीमा सेवा प्रयोग गरेका छन् । ९७ हजार २०६ जना महिला स्वास्थ्य स्वयम सेविकाले निशुल्क स्वास्थ्य बीमा सुविधा पाएका छन् । बीमा भएकामध्ये ३७ हजार ६४९ जनाले २८ करोड ५९ लाख रुपैयाँ बराबरको उपचार सुविधा लिएका छन् ।
त्यस्तै, २८ हजार ६७९ एचआईभि संक्रमितको पनि निशुल्क स्वास्थ्य बीमा भएको छ । जसमध्ये १० हजार ६३९ संक्रमित बिमितले चार करोड ४८ लाख रुपैयाँ बराबरको सेवा लिएका छन् । तीन हजार ४७ कुष्ठरोगी र दुई हजार ७१३ एमडिआर टिबी भएका मानिसको निशुल्क स्वास्थ्य बीमा भएको छ ।
बोर्डका अनुसार बीमा गरिएका कृष्ठरोगीमध्ये ९८७ जनाले ७५ लाख १७ हजार रुपैयाँ बराबरको उपचार सुविधा लिएका छन् भने ८६४ जना एमडिआर टिबी भएका बिमितले ६२ लाख ७१ हजार रुपैयाँ बराबरको उपचार सुविधा लिएका छन् ।
निशुल्क बीमा सेवा लिने लक्षित वर्गको विवरण
