जोखिम मूल्याङ्कनमा कडाई गर्न बीमा कम्पनीलाई समितिले ग-यो पत्राचार « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

जोखिम मूल्याङ्कनमा कडाई गर्न बीमा कम्पनीलाई समितिले ग-यो पत्राचार



काठमाडौं । जीवन बीमा पोलिसी जारी गर्नु अगाडी गरिने जोखिम मूल्याङ्कनमा कडाई गर्न बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ । कम्पनीहरुलाई परिपत्र गर्दै समितिले बीमा दाबी भुक्तानी गर्दा समेत आवश्यक कागजपत्रको छानबिन गरेर मात्रै भुक्तानी गर्न निर्देशन दिएको छ ।

पछिल्लो समयमा जीवन बीमा पोलिसी कै कारण हत्याका घटना बढ्न थालेका छन् । सुनियोजित रुपमा बीमा गराउने र बीमितको हत्या गरी बीमा रकम असुल गर्ने गिरोह नै सक्रिय रुपमा लागेको भेटिएपछि समिति सजग बनेको छ । तसर्थ समितिले सबै कम्पनीलाई यस्तो गतिविधिमा कडाई गर्न आग्रह गरेको हो ।

बीमा भनेको सुरक्षा हो । सम्भावित दुर्घटनाका कारण आईपर्ने आर्थिक संकटबाट सुरक्षित हुन बीमा पोलिसी खरिद गरिन्छ । तर, कम्पनीले बीमा पोलिसी विक्री गर्दा र भुक्तानी गर्ने प्रक्रियामा लापरवाही गर्दा बीमा पोलिसी नै हत्याको कारक बन्दै गएको छ ।

कुनै पनि कम्पनीले पोलिसी जारी गर्नु अघि बीमा गरिने बस्तु वा मानिस जोखिम कति छ भनेर मूल्यांकन गर्नुपर्छ । बीमा गरिन बस्तु वा मानिसको जोखिम परिणामको आधारमा बीमाशुल्क तय गरिन्छ । कतिपय अवस्थामा कम्पनीले बीमा गर्न अस्विकार पनि गर्न सक्छन् । बीमा गरिने बस्तुवा मानिसमा अत्याधिक जोखिम देखियो भने कम्पनीले इन्कार समेत गर्न पाउँछन् ।

त्यस्तै, कम्पनीमा दाबी परेमा पनि कति क्षति भएछ भने मूल्यांकन गरिन्छ । दाबी रकम वा घटना वास्तविक हो कि हैन भनेर मूल्यांकन गरिन्छ । यसमा प्रशस्त मात्रामा कागजपत्रको आवश्यकता पर्छ ।

तर, अहिले बीमा कम्पनीहरुले जोखिमको मूल्यांकन नहेरी थोरै बीमाशुल्कको लागि बीमा पोलिसी जारी गर्ने हुँदा यस्ता घटना घट्न थालेको समितिको ठम्माईछ । तसर्थ बीमा गर्नु अघि र दाबी भुक्तानी गर्नु अघि पर्याप्त जोखिमको मूल्यांकन गर्नुपर्ने समितिले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्