भोलिदेखि अस्तित्वमा आउँदै बीमा प्राधिकरण, नयाँ लाेगो पनि सार्वजनिक

काठमाडौं । भोलि अर्थात कात्तिक २२ गतेदेखि नयाँ बीमा ऐन २०७९ लागू हुने भएको छ । नयाँ ऐन अनुसार अब बीमा समितिबाट रुपान्तरण भएर नेपाल बीमा प्राधिकरण हुनेछ ।
बीमा ऐन २०४९ लाई संसोधन गर्न बनेको नयाँ कानुन अर्थात् बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित भएको छ । जुन कात्तिक २२ गतेबाट कार्यान्वयनमा आउँदैछ । बीमा ऐन राष्ट्रपति विद्यादेवी भण्डारी गत असोज २३ गते प्रमाणीकरण गरेकी हुन् । नयाँ ऐन अनुसार अब पुनर्बीमा, जीवन, निर्जीबन तथा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने मामलामा अर्थ मन्त्रालयको हस्तक्षेप नहुने भएको छ । अब बीमा समितिबाट रुपान्तरण भएर बन्ने बीमा प्राधिकरणको एकल निर्णयमै यस्तो लाइसेन्स वितरण गर्न सकिने भएको हो ।
सरकारले जारी गरेको नयाँ बीमा ऐन २०७९ ले नै प्राधिकरणलाई उक्त अधिकारी दिएको हो । त्यसपछि पुनर्बीमा, जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्न परेमा प्राधिकरणकै निर्णय अन्तिम हुनेछ ।
समितिले अगाडि बढाएको लघुबीमा कम्पनीको लाइसेन्स प्रक्रिया निर्वाचन आचार संहिताका कारण मंसिर ४ सम्म रोकिने सम्भावना बढी छ । त्यो भएमा लघुबीमा कम्पनीको लाइसेन्स दिने मामलमा समेत यो व्यवस्था लागू हुनेछ ।
हालसम्म निर्जीवन बीमा कम्पनीको लाइसेन्स बीमा समितिले नै दिन सक्ने व्यवस्था छ । जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमाको लाइसेन्स दिने मामलामा भने अर्थ मन्त्रालयको निर्णय अन्तिम हुन्थ्यो । तर, बीमा ऐन कार्यान्वन भएपछि यस सम्बन्धी सम्पूर्ण अधिकार प्राधिकरणलाई नै हुनेछ ।