नेपाल रिलाई २ बर्षमै एसियाको नमुना पुनर्बीमा कम्पनी बनाउन सकिन्छ: पुरुषोत्तम सुवेदी [ अन्तर्वार्ता ] « Arthapath.com
२३ कार्तिक २०७९, बुधबार

नेपाल रिलाई २ बर्षमै एसियाको नमुना पुनर्बीमा कम्पनी बनाउन सकिन्छ: पुरुषोत्तम सुवेदी [ अन्तर्वार्ता ]



काठमाडौं । नेपालको बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो समय काम गरेका पुरुषोत्तम सुवेदीले नेपाल पुनर्बीमा कम्पनीमा स्वतन्त्र विज्ञ संचालक भएर पनि काम गरे ।
साथै, नेपाल पुनर्बीमा कम्पनीको कार्यवाहक अध्यक्ष समेत भएर काममा गरे । सो क्रममा उनको पालामा नेपाल रिले के कस्तो उपलब्धी हासिल गर्यो त ? या, कम्पनीले के कस्ता चुनौति सामाना गर्नुपर्यो ? प्रस्तुत छ सोही विषयवस्तुमा केन्द्रीत भएर नेपाल पुनर्बीमा स्मारिका २०७९ का लागि उनै सुबेदीसंग गरेको कुराकानीको अंश ।

पुनर्बीमा कम्पनीको कार्यबाहक अध्यक्ष र स्वतन्त्र विज्ञ सञ्चालकको रुपमा काम गर्नु भयो । त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ?

मैले कार्यबाहक अध्यक्षको रुपमा एकदमै छोटो समय काम गरेको हो । स्वतन्त्र विज्ञ सञ्चालक भएर लामै समय काम गरे । म बीमा क्षेत्रमै लामो समयसम्म काम गरेको व्यक्ति पनि हुँ । त्यो अवस्थामा मसँग बीमा र पुनर्बीमा सम्बन्धी ज्ञान पनि राम्रो थियो । त्यस कारण मलाई नेपाल रिमा स्वतन्त्र विज्ञ सञ्चालक र कार्यवाहक अध्यक्ष भएर काम गर्न सहज पनि भयो। समग्रमा मैले नेपाल रिमा बसेर आफ्नी जिम्मेवार सकेजति राम्रोसँग निर्वाह गर्ने प्रयास गरे, आफैलाई रिग्रेट (पछुतो) हुने गरि कुनै पनि काम गरिन । साथै, मेरो पदीय हैसियत भन्दा बाहिर गएर काम गरिन ।

तपाईंको पालामा भएको कम्पनीका उपलब्धीहरु केही छन् कि ?

विशेषगरि मेरो पालामा एभिएसन (एयरलाइन्स) बीमाको लागि पुल स्थापना भयो । त्यो नै महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु । पहिला एभिएसन बीमामा एक किसिमको सिन्डीकेट जस्तै थियो । विश्व बजारमै यस्तो बीमा गर्न कतै पनि फि छैन। किनकी यसमा स्कोप सिमित छ भने दायित्व असिमित छ । त्यसकारण एभिएसन श्रीमा गर्न एकदमै गाह्रो हुन्छ । नेपालमा राष्ट्रिय बीमा संस्थानले नेपाल एयरलाइन्सको बीमा गर्ने गरेको थियो । तर, पछि निजी बीमा कम्पनीको उदय भएपछि त्यसमा केही चलखेल भने भए जस्तो लाग्छ ।

खासगरि यहाँका बीमा कम्पनीले एभिएसनमा एजेन्टकै भूमिका निर्वाह गर्ने हो। सर्टेन जोखिम आफुले राखेर बाँकी पुनर्बीमा मार्फत बाहिर पठाउने गरिन्थ्यो । त्यसमार्फत बीमा कम्पनीलाई सर्टेन कमिशनः पनि आउथ्यो होला, सोही कमिशनका कारण एभिएसन बीमामा विभिन्न चलखेल थियो जस्तो लाग्छ । त्यो अवस्थामा मैले नेपालमै एभीएसन बीमा गर्ने क्षमता विकास गर्नुपर्छ भनेर एभीएसन बीमा पुलको बनाउन प्रस्ताव अघि बढाए । त्यसमा बीमा कम्पनीहरुलाई सहमती गराएर पुल खड़ा गर्यौं। त्यसको सचिवालय शिखर इन्स्योरेन्सको कार्यालयमै छ। विशेषगरि कन्स्योटीयम मार्फत हवाई जहाजहरुको बीमा गर्ने गरि उक्त पुल बनाएका हौं । उक्त पुलमा बीमा कम्पनीहरुको ६० र नेपाल रिको ४० प्रतिशत स्वामित्व छ। सोहीअनुसार आम्दानी, खर्च र नाफा बाँडफाँड हुन्छ । अहिले एभिएसन पुलले ठुलो ब्रोकरसँग सहकार्य गर्ने तयारीमा पनि छ होला ।

मेरो पालामा अन्य काम पनि भयो, तर मुख्य उपलब्धी भने यो नै हो। तर, यसको जस म आफू मात्र लिन चाहान्न । यसको पछाडी सरकार, बीमा समिति, अन्य बीमा कम्पनीहरु, नेपाल रिका सञ्चालक तथा सम्पुर्ण कर्मचारीको पनि महत्वपुर्ण योगदान छ ।

तत्कालिन समयमा (तपाईको पालामा) नेपाल रिलाई के कस्तो चुनौती थिए ?

त्यसबेला प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष (अनमिन) चुनौती धेरै थियो । तत्कालिन समयमा नयाँ कम्पनीका लागि अनफेयर चलखेल भएको थियो । त्यो हाम्रो हातमा पनि थिएन, किनकी हामी सरकारी स्वामित्वकी कम्पनी मात्रै हो । सरकारनै त होइन। यसरी नेपाल रिको अर्को पुनर्बीमा कम्पनी थपिनु पक्कै पनि चुनौती कैै विषय हो ।

यस्तै, नयाँ व्यवसाय रिप्लेस गर्दा ब्रोकरको चलखेल पनि हुन्थ्यो । त्यसलाई रोक्न पनि निकै चुनौती भएको थियो । अन्ततः त्यसलाई रोक्न हामी सफल भयौ । यस्तै, यहाँ बीमा कम्पनीहरु पनि विदेशी पुनर्बीमा कम्पनीहरुसंग काम गर्न चाहान्थे । त्यो पनि नेपाल रिको लागि एक ठुलो चुनौती थियो । सम्भवत यो समस्या अझै पनि छ जस्तो लाग्छ ।

तत्कालिन समयमा बीमा समिति र सरकारबाट के कत्तिको सहयोग कस्तो पाउनुभयो ?

सरकार र बीमा समितिबाट सहयोग भयो भन्ने कि भएन भन्ने नीतिगत रुपमा सरकार र बीमा समितिबाट सहयोग त भएकै हो। तर, व्यवसायिक (प्रोफेसनल्ली) रुपमा भने अपेक्षाकृत सहयोग भएन । सरकार र बीमा समितिले सरकारी कम्पनीलाई अली बढी प्रोत्साहित गर्नुपर्ने हो, जुन त्यति भएन। साथै बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीमा बीमा समितिको नीतिगत रूपमा हस्तक्षेप बढी छ । सञ्चालक, सीईओ, कर्मचारी नियुक्तीमा समितिको स्वीकृति अनिवार्य चाहिन्छ । यो अली बढी भए जस्तो लाग्छ । साथै, पछिल्लो पटक त सरकारले अर्को पुनर्बीमा नै थपेर नेपाल रि प्रति अन्याय गरेको छ ।

अर्थ मन्त्रालय, बीमा समिति, कम्पनीको सञ्चालकमा जुन दिन प्रोफेस्नल व्यक्ति आउछन्, त्यसपछि यो कम्पनीले राम्रो काम गर्न सक्छ । दुई वर्षमै नेपाल रिलाई एसियाकै नमुना पुनर्बीमा कम्पनी बन्छ। नेपाल रिको हैसियत त्यो हो। तर, त्यसको लागि कर्मचारी समेत प्रोफेस्नल्ली हुन आवश्यक छ । साथै, सञ्चालक, उच्च व्यवस्थापन समुह तथा समग्र कम्पनीलाई पनि स्वायत्त बनाउनुपर्छ । तसर्थ, सरकार र बीमा समितिले यस विषयमा ध्यान दिन आवश्यक छ ।

तत्कालीन समयमा नेपाल रिको व्यवसाय कस्तो थियो ? विदेशी कम्पनीको यस प्रतिको आर्कषण कस्तो थियो ?

बीचमा यो एउटा नेपालको साझा पुर्वीमा कम्पनी बीचमा यो एउटा नेपालको साझा पुनर्बीमा कम्पनी जस्तो पनि भयो । त्यो अवस्थामा विदेशी ब्रोकरहरुले नेपालमा व्यवसाय गर्न सिधै नेपाल रिसँग डिल गर्ने गर्दथे । समग्रमा अन्तरराष्ट्रिय बीमा, पुनर्बीमा कम्पनी तथा ब्रोकरहरुले नेपाल रिलाई पत्याएका थिए । विशेषगरि अरव, अफ्रिका, एसिया क्षेत्रका कम्पनीले नेपाल रिलाई पत्याएका थिए। साथै, व्यवसाय पनि राम्रै थियो । समग्रमा तत्कालिन समयमा नेपालको व्यवसाय राम्रो थियो । साथै, विदेशी कम्पनीको आकर्षण पनि राम्रो थियो ।
अब नेपाल रिले के कसरी काम गर्नुपर्छ होला ? तपाईको सुझाव के छ ?

अब नेपाल रिले प्रोफेस्नल्ली र पायोनियर कम्पनीको रुपमा काम गर्नुपर्छ । साथै, नेपालको झण्डा बाहक कम्पनीको रूपमा नेपाल रिले विदेशी बजारमा व्यापक मात्रामा काम गनुपर्छ । त्यो च्यालेन्ज नेपाल रिलाई छ । उक्त च्यालेन्ज पुरा गर्ने गरी कम्पनीले काम गर्नुपर्छ । यस्तै, व्यवसायिक ब्रोकर, राम्रो कम्पनीसंग मात्रै नेपाल रिले काम गर्नुपर्छ । साथै, अन्डरराइटीड र दावीको पाटोलाई पनि कम्पनीले बलियो रुपमा अघि बढाउनुपर्छ । साथै, कम्पनीका कर्मचारीहरुको व्यवसायिक विकासमा समेत कम्पनीले ध्यान दिनुपर्छ ।

यस्तै, नेपाल रिमा जनताको पनि लगानी छ। उनीहरुको लगानी पनि सुरक्षित गर्नुपर्ने हाम्रो चुनौती हो। पुनर्बीमामा राम्रोसंग काम गर्न सकिएन भने अब पैसा यत्तिकै सकिन्छ । तसर्थ, जनतासंगै संस्थापक लगानीकर्तालाई समेत उचित प्रतिफल दिने गरि कम्पनीले काम गर्नुपर्छ । समग्रमा कम्पनीलाई दिर्घकालिन बनाउने गरि अघि बढ्नुपर्छ । कम्पनीको अन्तरराष्ट्रिय क्रेडिट रेटीङ गर्ने विषयमा पनि सबै अग्रसर हुनुपर्छ । कम्पनी स्थापना भएको यतिका वर्ष भएपनि अझै त्यस्तो रेटीङ हुन सकेको छैन । सायद, नेपालकै रेटीङ नभएर पनि होला ।तर, विश्व बजारका बीमा कम्पनीले ए र बी रेटीङ प्राप्त बाहेकका पुनर्बीमा कम्पनीलाई पत्याउदैनन् । नेपाल रिको भने अझै रेटीङ गराइएको छैन। सरकारी कम्पनी भएको कारण मात्रै नेपाल रिले विदेशबाट व्यवसाय ल्याउन सकेको छ । रेटीङ भएको अवस्थामा नेपाल रिले विदेशबाट अझै राम्रो व्यवसाय ल्याउन सक्छ तसर्थ, रेटीङ गर्ने मामलामा सरकार, बीमा समिति र स्वयम कम्पनी एकदमै अग्रसर हुनुपर्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्