लाभांश पारित गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न « Arthapath.com
९ माघ २०७९, सोमबार

लाभांश पारित गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा होटल लि हिमालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीले गत गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने कार्य सूची समेत पारित गरेको हो ।

अध्यक्ष हेमराज ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २७ गते देखि माघ ६ गते सम्म बुक क्लोज गरेसँगै पुष २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्