लघुबीमा: सिमान्तकृत समुदायमा पहुँच पुग्ने बलियो आधार « Arthapath.com
६ जेष्ठ २०८०, शनिबार

लघुबीमा: सिमान्तकृत समुदायमा पहुँच पुग्ने बलियो आधार



काठमाडौं । निर्जीवन बीमाको पुहँच कति छ, त्यसबारे कुनै पनि तथ्यांक सार्वजनिक भएको छैन । बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत मसान्तसम्म जीवन बीमाको पहुँच भने ३९.७४ प्रतिशत नेपालीमा पुगेको छ । बैदेशिक रोजगारमा गएका कामदारले गरेको म्यादी बीमासहित भने ४४.५५ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ ।

यद्यपि, बैदेशिक रोजगारमा जाने कामदारको अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ, त्योअनुसार बीमाको पहुँच मापनमा त्यसले खास महत्व राख्दैन । त्योअनुसार नेपालमा ३९.७४ प्रतिशत नेपालीमै बीमा पहुँच पुगेको देखिन्छ । यद्यपि, त्यो पनि यकिन तथ्यांक भने होइन । एउटै व्यक्तिले दुई भन्दा बढी बीमालेख खरिद गरेका हुन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै संसारभर कुल कायम बीमालेखमा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने अभ्यास छ । सोहीअनुसार नेपालमा पनि कुल कायम बीमालेखमा ५ प्रतिशत घटाएर बीमा पहुँच गणना गरिएको हो । बीमितिको ग्राहक पहिचान विवरण (केवाईसी) केलाएर खुद बीमा पहुुँच गणना गरिएको होइन ।

प्रदेशगत तथ्याङकअनुसार बागमती प्रदेशमा जनसंख्या भन्दा पनि बढी बीमालेख छ । त्यसले नेपालमा एउटै व्यक्तिले पनि धेरै बीमालेख खरिद गरेको पुष्टी हुन्छ । यद्यपि, देशका बिभिन्न देशका नागरिक संघीय राजधानी काठमाडौंमा बस्छन्, जुन बागमती प्रदेशमा छ, त्योअनुसार पनि बागमती प्रदेशमा जनसंख्या भन्दा बढी बीमालेख छ ।

यद्यपि, प्रदेशगत रुपमा बीमाको पहुँचमा निकै असमनता छ । पछिल्लो समय नेपालमा बीमाको पहुँच बढ्दो क्रममा छ । तर, अझै पनि कयौैं नेपाली बीमाको दायरामा आएका छैनन् । गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा त बीमाको पहुँच नगन्य छ ।

वास्तवमा गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमाको आवश्यकता एकदमै बढी छ । आर्थिक रुपमा कमजोर मानिने त्यस्ता समुदायका व्यक्तिलाई बिरामी हुदाँ समेत औषधी उपचार गर्न निकै कठिन हुन्छ । घरको मुली मान्छेमा वितेमा झन् समस्या हुन्छ । बाढी पहिरो लगायतका प्रकोपका कारण घर लगायतका भौतिक सम्पत्ति क्षतिग्रस्त भएमा, उनीहरुमा पुन:निर्माण गर्ने आर्थिक क्षमता पनि हुँदैन । त्योअनुसार धनाढ्य वर्गका व्यक्तिलाई भन्दा गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायका व्यक्तिलाई बीमाको आवश्यता बढी छ । तर, बीमा कम्पनीहरु व्यापार तथा नाफामा बढी केन्द्रीत हुदाँ त्यस्ता समुदायमा व्यक्ति अझै पनि बीमाको दायरामा आएका छैनन् । गरिब, न्यून आय भएका वर्ग तथा सिमान्तकृत समुदायले ठुलो रकमको बीमा गर्न सक्दैनन् । साना साना रकमको बीमा गर्न भने उनीहरु गर्न सक्छन् । तर, ठुला बीमा कम्पनीहरु ठुला व्यवसायको नै पछि लाग्दा त्यस्ता बर्गका मानिसहरु बीमाको सेवाबाट बञ्चित हुन परेको हो ।

बीमा कम्पनीहरुको कुल व्यवसायमा लघुबीमाको हिस्सा १० प्रतिशत हुनुपर्ने व्यवस्था ल्याउँदा समेत कम्पनीहरुले त्यसलाई वास्ता गरेनन् । फलस्वरुप गरिब तथा सिमान्तकृत समुदायका नेपालीहरु बीमाको दायरामा आउने नसकेको देखिन्छ । नेपालमा बीमा गर्नेमा पनि अधिकांश धनाढ्य समुदायकै व्यक्तिहरु रहेको देखिन्छ । त्यसमा पनि अधिकांशले जीवन बीमालाई बचत तथा कमाउने माध्यमकै रुपमा लिएका छन् । छोटो समयमै गरिने सरेन्डर, त्यसको एउटा उदाहरण हो ।

यसरी अझै गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा बीमाको पहुँच पुगेको छैन । तर, अब लघुबीमा कम्पनीको उदय हुने भएसँगै अब त्यस्ता नेपालीहरुमा पनि बीमाको पहुँच विस्तार हुने बलियो आधार हुने देखिएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमा पुहँच पुर्याउने उद्देश्य सहित लघुबीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । सो क्रममा सातै प्रदेशमा १/१ वटा लघुबीमा स्थापना गर्ने गरि ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिइ सकिएको छ ।

त्यसमा कोशी प्रदेशमा गार्डियन माइक्रो लाइफ, मधेश प्रदेशमा स्टार माइक्रो इन्योरेन्स, बागमतीमा नेपाल माइक्रो इन्स्योेरेन्स र गण्डकीमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालनमा आउदैन् । यस्तै, लुम्बिनीमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, कर्णालीमा क्रेस्ट माइक्रो लाइप इन्स्योरेन्स र सुदुर पश्चिममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालनमा आउँदै छन् । ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीलाई एक एक प्रदेश तोकेर लाइसेन्स दिइएको थियो । यद्यपि, उनीहरुले देशभर नै काम गर्न पाउछन् । यसरी नेपालमा पहिलो पटक लघुबीमा कम्पनी सञ्चालनमा आउदैन छन् । यसले बीमाको सेवा सिमान्तकृत समुदायमा पुर्याउन सहयोग पुग्ने बलियो आधार खडा भएको छ ।

नियामक निकाय प्राधिकरणले लघुबीमा निर्देशिका जारी गर्दै लघुबीमा कम्पनीले गर्ने बीमाको सिमा समेत तोकिसकेको छ । निर्जीवन लघुबीमा कम्पनीले प्रति पोलिसी अधिक्तम ५० लाख रुपैयाँ र जीवन लघुबीमा कम्पनीले प्रति पोलिसी अधिक्तम ५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने गरि सिमा तोकिएको छ ।

निर्जीवन लघुबीमातर्फ घर, सम्पत्ति तथा व्यवसायमा अधिक्तम ५० लाख रुपैयाँको सिमा तोकिएको छ । यसैगरि इन्जीनेरिङ बीमामा पनि ५० लाख रुपैयाँकै अधिक्तम सिमा तोकिएको छ । यसैगरि दायित्व तथा मौद्रिक क्षति र अन्य प्रकारका लघुबीमामा ५ लाख रुपैयाँको सिमा तोकिएको छ । यसैगरि मोटर लघुबीमामा ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलगाडाको मात्रै बीमा गर्न पाइनेछ् । उनीहरुको मुल्यअनुसार बीमांक राखेर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख गरिको छ । जीवन लघुबीमामा भने ५ लाख रुपैयाँको अधिक्तम सिमा तोकिएको छ । जीवनतर्फ आजीवन, सावधिक, म्यादी र अनय लघुजीवन बीमा गर्न सकिने छ ।

यसरी लघुबीमा कम्पनीलाई बीमा गर्ने सिमा तोकिएको छ । त्यो सिमाले गर्दा पनि लघुबीमा कम्पनीहरु सिमान्तकृत समुदायमा जानुपर्ने दबाब हुन्छ । साथै, नियामक निकाय प्राधिकरणले पनि लघुबीमा कम्पनीहरुले त्यस्तै समुदायमा गएर बीमा व्यवसाय गर्नुपर्ने भनेर नीतिगत व्यवस्था गरेको छ । यो अवस्थामा अब सिमान्तकृत समुदाय बीमाको पहुँचमा आउने आधार बनेको छ ।

गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा बीमाको पहुँच पुराउन लघुबीमा कम्पनी उचित विकल्प बनिसकेको थियो । किनकी, सञ्चालित ठुला बीमा कम्पनीहरुले त्यस्तो समुदायलाई वेवास्ता गर्दै आएका छन् । नीतिगत रुपमा दबाब दिदाँ समेत ठुला बीमा कम्पनीहरुले त्यस्ता समुदायलाई वास्ता गरेनन् । सोहीअनुसार लघुबीमा नै यसका लागि उचित विकल्प थियो ।

वित्तिय पहुँचको कुरा गर्दा अहिले अधिकांश नेपाली पहुँचमा छन् । करिव करिव ८० प्रतिशत हाराहारी नेपालमा वित्तिय पहुँच पुगेको अनुमान गरिन्छ । यद्यपि, यसबारे नेपाल राष्ट्र बैंकले पछिल्लो तथ्यांक सार्वजनिक गरिसकेको छैन । तर, नेपालमा वित्तिय पहुँच निकै राम्रो छ । तर, यो स्तरको वित्तिय पहुँच ठुला बैंकहरुकै कारण मात्रा बढेको होइन । त्यसमा लघुवित्त वित्तिय संस्थाहरुको पनि ठुलो योगदान । समग्रमा दुर दराज, न्यून आए भएका नेपाली, सिमान्तकृत समुदायमा वित्तिय पुहँच विस्तार गर्न लघु वित्तले नै सघाएको हो । त्यसैगरि दुरदराज तथा सिमान्तकृत समुदायमा बीमा पहुुँच पुर्याउन लघुबीमा कम्पनीले पनि महत्वपूर्ण योगदान दिन सक्छन् ।

फलस्वरुप समाजमा आर्थिक समानता ल्याउन समेत यसले सहयोग गर्छ । नेपाली समाजमा आर्थिक रुपमा समेत निकै असमनता छ । त्यो असमनताको खाल्डोलाई मेट्न समेत लघुबीमाले सहयोग पुग्छ । गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदाय व्यक्तिलाई बिरामी हुदाँ औषधी उपचार गर्न समेत समाजका हुने खाने व्यक्तिबाट महंगो व्याजदरमा ऋण लिनु परेको छ, जुन ऋण तिर्न नसक्दा उनीहरु आर्थिक रुपमा झन् चपेटामा परेका छन् । ऋण तिर्नकै लागि साहुको घरमा दास भएर समेत बस्नुपर्ने परिस्थीती छ । यदि, उनीहरुलाई बीमाको पहुँचमा ल्याउन सकेमा, विरामी हुदाँ उपचार गर्नको लागि ऋण लिनै पर्दैन । बीमाले नै त्यसको दायित्व बहन गर्छ । फलस्वरुप उनीहरु थप आर्थिक चपेटामा पर्दैनन् । उनीहरुले कमाएको पैसा बीमाको माध्यमबाट बचत समेत हुन्छ । बीमा अवधी सकिएपछि बोनस सहित एकमुष्ठ रकम आउछ । बीचमा केही अप्रिय घटना को अवस्थामा पनि बीमाले नै आर्थिक दायित्व लिन्छ । यसरी लघुबीमाले समाजमा आर्थिक समानता ल्याउने आधार समेत बन्छ ।

यद्यपि, लघुबीमा कम्पनी नेपालमा कति सफल हुन्छन्, त्यो प्रतिक्षाको बिषय हो । किनकी, नेपालमा लघुबीमा नौलो अभ्यास हो । त्यसमाथि पनि उनीहरुले बर्षाेदेखि नेपाली बजारमा राज गर्दै आएका ठुला बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । लघुबीमाका लागि तोकिएको बीमांकको सिमा बीमा योजनाहरु ठूला बीमा कम्पनीले पनि सँगसँगै सञ्चालन गर्न पाउछन् । त्योअनुसार उनीहरुले ठुला कम्पनीहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । ठुला कम्पनीसँग पर्याप्त अभिकर्ता, अनुभव तथा व्यावसायिक शाखा सञ्जाल छन । पहिला उनीहरुले लघुबीमालाई प्राथमिकता राखेका थिएनन । तर, अहिले व्यवसाय बढाउने ठूला बीमा कम्पनीले पनि होडबाजीमा सानो आकारको बीमा गर्दै आएका छन । त्यो अवस्थामा अब आउन लागेका नयाँ लघुबीमा कम्पनीहरुलाई ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणले लिएको पछिल्लो चुक्तापुँजी वृद्धिको नीतिले बीमा कम्पनीहरु मर्जरमा जान प्रेरित भएका छन । मर्जपछि ठूला कम्पनीहरु झनै बलिया बनेका छन् । लघुबीमा कम्पनी आएसँगै ठूला कम्पनीलाई न्यून बीमांकका बीमा गर्न रोक लगाउँदा पनि हुने हो । तर, ठूला बीमा कम्पनीलाई साना आकारको बीमा व्यवसाय गर्न रोक लगाइएको छैन । यद्यपि, यो सही हो कि गलत, त्यो भने बहस तथा छलफलको विषय हो । तर, यसैका कारण लघुबीमा कम्पनीहरुलाई बजारमा निकै चुनौती हुने देखिन्छ । दुर दराजमा गएर काम गर्नुपर्ने हुँदा उनीहरुको लागत पनि ठूला कम्पनीको तुलनामा बढी नै हुन्छ । यस्ता थुप्रै चुनौतीका माझ लघुबीमा कम्पनीले नविन व्यवसाय सुरु गर्न खोजिरहेका छन । त्यो अवस्थामा यो कति सफल हुन्छ, त्यो प्रतिक्षाकै बिषय हो ।

साथै, समान्तकृत समुदायमा बीमा पहुँच पुग्छ कि पुग्दैन भन्ने बिषयमा, लघुबीमा कम्पनीहरुले कसरी काम गर्छन्, त्यसले पनि महत्व राख्छ । सरकारले सिमान्तकृत समुदायमै वित्तिय पहुँच पुर्याउने गरि लघुवित्त वित्तिय संस्थाको अवधारणा ल्यायो । थुप्रै लुघवित्तहरु स्थापना पनि भए । उनीहरु व्यवसायीक रुपमा सफल पनि भएका छन् । तर, सैद्धान्तिक रुपमा भने लघुवित्तहरु असफल भएको पछिल्ला केही घटनाहरुले देखाएका छन् । गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा वित्तिय सेवा प्रदान गर्ने गरि नै लघुवित्तको अवधारणा अघि बढाइएको थियो । तर, लघुवित्तहरुले ठुला बैंकका ऋणीलाई पनि ऋण दिने गरेको देखियो । सर्वसाधारणालाई ऋण दिने र त्यो ऋण तिर्नका लागि लघुवित्तकै कर्मचारीले ऋणीलाई मिटर व्याजमा पैसा दिने जस्ता समस्या त्यस क्षेत्रमा देखिए । लघुवित्तको ऋणकै कारण कयौं ऋणीहरु घर छोडेर हिड्न बाध्य भए । लघुवित्त वित्तिय संस्था हुदाँ हुँदै पनि कयौं सर्वसाधारणले साहुबाट मिटरव्याज ऋण लिनु परेको छ । यसरी नेपालमा सैद्धान्तिक रुपमा लघुवित्त वित्तिय संस्थाहरु फेल अर्थात् असफल भएको भन्नका लागि पर्याप्त आधारहरु देख्खि सकेका छन् ।

अब लघुबीमा कम्पनीहरुले पनि यसरी नै आफ्नो सिद्धान्त भन्दा बाहिरी गएर काम गर्छन्, समाजकै धनाढ्य वर्गकै व्यक्तिहरुको साना साना रकमको बीमा गराएर नाफा कमाउने होडमा अघि बढ्छन् भने, यसको पनि खास महत्व रहदैन । तसर्थ, उनीहरु तोकिएको वर्ग समुदायमै बीमा सेवा विस्तार गर्न अग्रसर हुनुपर्छ । यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि उनीहरु मािथ बिशेष नियमन गर्नुपर्ने आवश्यता छ । यद्यपि, लघुबीमा कम्पनीहरु पनि ७५ करोड रुपैयाँ लगानी गरेर स्थापना हुँदैछन् । यो आफैमा ठुलो रकम हो । निजी क्षेत्रबाट स्थापना भएको हुनाले उनीहरुलाई नाफा कमाउन पनि पर्छ नै, त्योअनुसार उनीहरुलाई नाफा कमाउने वातावरण त हुनुपर्छ । तर, उनीहरु नाफा कमाउने होडमा मात्रै लाग्न भने हुँदैन । उनीहरुले सिमान्तकृत समुदायका नागरिकलाई बीमाको दायरामा ल्याउनैपर्छ । त्यसको लागि प्राधिकरणले नियमन पनि चुस्त बनाउनुपर्छ । साथै, आवश्यक लघुबीमा कम्पनीहरुलाई आवश्यक सहजीकरण पनि गर्नुपर्छ । अनि मात्रै यो सफल हुन्छ, नत्र यसमा पनि भोलिका दिनमा लघुवित्त क्षेत्रकै जस्तो समस्या नआउँला भन्न सकिदैन । तसर्थ, त्यस्तो समस्या आउन नदिने गरि काम गर्नुपर्छ ।

यस्तै, गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा बीमा सम्बन्धी चेतना पनि न्यून छ । कतिपयलाई बीमाबारे केही पनि थाहा नहुन सक्छ । तसर्थ, लघुबीमा कम्पनीहरुले बीमा सम्बन्धी चेतना बढाउने गरि पनि काम गर्नुपर्छ, यसमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको समेत सहयोग आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्