अब नेपालमा बीमा कम्पनीको आवश्यक संख्या कति ? प्राधिकरणले पहिलो पटक थाल्यो अध्ययन « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

अब नेपालमा बीमा कम्पनीको आवश्यक संख्या कति ? प्राधिकरणले पहिलो पटक थाल्यो अध्ययन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा बीमा कम्पनीको संख्या बारे अध्ययन गर्ने भएको छ । नियामक निकायले आवश्यक पर्ने बीमा कम्पनीको संख्याबारे पहिलो पटक अध्ययन अघि बढाएको हो । त्रिभुवन विश्व विद्यालयको प्राविधिक सहयोगमा प्राधिकरणले यस्तो अध्ययन अघि बढाएको हो । विश्वका अधिकांश देशमा यसबारे पटक–पटक अध्ययनहरु भइरहेको हुन्छन् । नेपालमा भने पहिलो पटक यस्तो अध्ययन गर्न शुरु गरिएको हो ।

यसअघि नेपालमा २० निर्जीवन र १९ जीवन बीमा कम्पनी सञ्चालनमा थिए । पछिल्लो समयको मर्जर लहरका कारण जीवन बीमा कम्पनीको संख्या १५ र निर्जीवन बीमा कम्पनीको संख्या १४ वटामा झरेको छ ।

महालक्ष्मी लाईफ र प्रभु लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेपछि जीवन बीमा कम्पनीको संख्या पनि १४ वटै नै कायम हुनेछ । तर, त्यो संख्या नै नेपाली बीमा बजारको लागि उपयुक्त हो भन्ने छैन । सोही अवस्थामा प्राधिकरणले नेपालमा के कति बीमा कम्पनी चाहिन्छ भन्ने बिषयमा अध्ययन अघि बढाएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनले भने,–‘पछिल्लो समय देखिएको मर्जर लहरको कारण बीमा कम्पनीहरुको संख्यामा घटेको छ । तर, नेपालको बीमा बजार, भुगोलको लागि कति बीमा कम्पनी आवश्यक हो भनेर कुनै अध्ययन तथा अनुसन्धान भएको छैन । सोही अवस्थालाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालयको इकोनोमिक्स डिपार्टमेन्टको प्राविधिक सहयोगमा यसको अध्ययन अघि बढाएका छौ ।’
सोही अध्ययनले निकाल्ने निष्कर्षको आधारमा थप नीति अवलम्बन गर्ने उनले बताए ।

बजार र भुगोलको आधारमा नेपालमा अझै पनि बीमा कम्पनीको संख्या बढी भएको अनुमान गरिन्छ । नेपालको भुगोल र बजार भन्दा कयौं गुणा ठुलो मानिने भारतमा जीवन कम्पनीको संख्या २४ र निर्जीवन बीमा कम्पनीको संख्या २८ मात्रै छ । तर, नेपालमा जीवन बीमा कम्पनीको संख्या १९ र निर्जीवन बीमा कम्पनीको संख्या २० थियो । मर्जरका कारण त्यो १४/१४ वटामा कायम हुँदैछन् । त्यो संख्या नेपाली बजारका लागि कत्तिको उपयुक्त हो ? अझै घटाउनुपर्ने हो कि बढाउनुपर्ने हो ? भन्ने लगायतका बिषयमा अध्ययन हुने प्राधिकरणले जनाएको छ ।

नेपालमा बीमा कम्पनीको संख्या बढी भएपनि दुर दराजमा बीमाको सेवा अझै विस्तार भएको छैन । बीमा कम्पनीहरु शहरकेन्द्रीत भएर यस्तो समस्या आएको बताइन्छ । तर, बीमा कम्पनीहरु आर्थिक रुपमा बलियो नहुदाँ पनि यस्तो समस्या आएको तर्क छ । दुर दराजमा बीमा सेवा विस्तार गर्न खर्च बढी लाग्छ । तर, बीमा कम्पनीहरुको बढी खर्च गर्ने क्षमता छैन । त्यो अवस्थामा कम्पनीलाई मर्ज मार्फत अझै बलियो बनाएर बीमा सेवा विस्तारमा जोड दिने उद्देश्यले पनि अध्ययन गर्न लागिएको हो ।

बिशेषगरि प्राधिकरणले चुक्तापुँजी बढाउने नीति ल्याएपछि बीमा कम्पनीको संख्या घटेको हो । पहिला जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्युनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । तर, नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७८ चैतमै एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम भनेको छ । त्यसको लागि गत चैत मसान्तसम्म म्याद दिइएको थियो । अहिले त्यसमा थप गरेर आगामी असार मसान्तसम्मको म्याद दिइएको छ । त्यसपछि बीमा कम्पनीहरु मर्जर मार्फत चुक्तापुँजी बढाउन लागेका थिए ।


प्रतिक्रिया दिनुहोस्