कहाँ हराए बीमा क्षेत्रका ५८९ कर्मचारी ? « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

कहाँ हराए बीमा क्षेत्रका ५८९ कर्मचारी ?



काठमाडौं । बीमा क्षेत्र पनि जागिरका लागि आकर्षण केन्द्रका रुपमा लिने गरिन्छ । सेवा, सुविधा र पारिश्रमिकका हिसावले पनि बीमा कम्पनीको जागिर राम्रो नै मानिन्छ । बैंकको जागिर छोडेर पनि बीमा क्षेत्रमा जोडिनेहरुको संख्या पनि बाक्लो नै छ ।

गत वर्षहरुमा बीमा क्षेत्रमा जागिरेको संख्या पनि बढ्दै गएको थियो । तर, पछिल्ला दिनहरुमा भने यस्तो संख्यामा कमी देखिएको छ । यो बर्ष भने बीमा क्षेत्रले दिने रोजगारीको संख्या स्वाट्टै घटेको छ । पछिल्लो एक वर्षमै बीमा क्षेत्रले दिने रोजगारीको संख्यामा ४.९६ प्रतिशतले घटेको हो ।

गत वर्षको बैशाख मसान्तसम्ममा बीमा कम्पनीहरुमा कर्मचारीहरुको संख्या ११ हजार ५७५ जना थियो । तर, एक वर्षको अवधिमा नै ५८९ जना कर्मचारी बीमा क्षेत्रबाट बाहिरिएका छन् अर्थात सो बराबरको संख्यामा कर्मचारीको संख्या घटेको छ । यो नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु अवको बैशाखसम्म बीमा क्षेत्रमा ११ हजार २८६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, जनु गत आवको सोही अवधीको तुलनामा ५८९ ले कमी हो ।

बीमा क्षेत्रमा रोजगारीको संरखया घट्नुको मुख्य कारण कम्पनीहरुको मर्जर पनि हो । मर्जरका कारण बीमा क्षेत्रमा रोजगारीको संख्या घटेको छ । गत बर्षहरुमा बीमा क्षेत्रले रोजगारीको संख्या बढ्दै गएको थियो । नेपालमा सञ्चालित निर्जीवन, जीवन र पुनर्बीमा कम्पनीमा सो बराबरको रोजगारी रहेको हो ।

नेपालमा अहिले निर्जीवन कम्पनीको संख्या १४, जीवन संख्या १५ र पुनर्बीमाको संख्या २ वटा रहेको छ । गत आवसम्म नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा कम्पनी थिए । तर, पुँजी बढाउने नीतिका कारण पछिल्लो समय थुप्रै बीमा कम्पनीहरु मर्जरमा गएका छन् । त्यसले गर्दा मर्ज भएका कम्पनीहरुमा कर्मचारीको संख्या बढी हुन गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै अधिकांश कम्पनीहरुले विभिन्न सुविधामा स्वैच्छिक अवकाश नीति ल्याएर कर्मचारी बिदाई गरेका छन् । त्यसले गर्दा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या घटेको हो । कम्पनीहरुको संख्या घटेपछि कर्मचारीहरुको संख्या पनि घट्नु स्वभाविक रहेको विज्ञहरु बताउँछन् ।

यस्तै, पछिल्लो समय देखिएको आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ । आर्थिक संकटका कारण मानिसको बीमा गर्ने क्षमता घटेको छ । त्यसले असर बीमा कम्पनीहरुको व्यवसायमा परेको छ । यसरी व्यवसाय प्रभावित हुदाँ पनि बीमा कम्पनीहरुले उलेख्य रुपमा रोजगारी वृद्धि गर्न सकेको छैन । यी यस्ता कारण बीमा क्षेत्रमा रोजगारी घटेको जानकारहरु बताउछ्न । यद्यपि, यस्ता समस्याका कारण बीमा कम्पनीहरुले भने कर्मचारी नहटाएको बताउँदै आएका छन् ।

मर्जरकै कारण पछिल्लो समय बीमा कम्पनीहरुको कार्यालयको संख्या पनि घट्दै गएको छ । गत वर्षको बैशाख महिनासम्ममा ३ हजार ३४८ वटा बीमा कम्पनीको कार्यालयहरु थिए । तर, यस वर्षको समिक्षा अवधिमा भने १२.९३ प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा ४३३ वटा कार्यालयको संख्या घटेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर बीमा कम्पनीहरुको कार्यालयको संख्या २ हजार ९१५ वटा कायम भएका छन् ।


प्रतिक्रिया दिनुहोस्