एक वर्षमै ५६५ बीमा कम्पनीको कार्यालयको अस्तित्व सकियो, कहाँ गए बीमा क्षेत्रका ६५६ कर्मचारी ?

काठमाडौं । नेपाली बीमा क्षेत्रका कर्मचारी र कम्पनीका शाखा कार्यालयको सङ्ख्या घट्दै गएको छ । एक वर्षको अवधिमा बीमा क्षेत्रबाट साढे ६०० भन्दा बढी कर्मचारी बाहिरिएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार एक वर्षमै बीमा कम्पनीबाट ६५६ जना कर्मचारी बिदा भएका छन् । अघिल्लो वर्षको असार मसान्तसम्ममा कुल ११ हजार ८६१ जना कर्मचारी बीमा कम्पनीहरूमा आबद्ध थिए । तर, पछिल्लो एक वर्षको अवधिमा नै यस क्षेत्रको कर्मचारीको सङ्ख्या ५.५३ प्रतिशतले घटेको छ । हाल बीमा क्षेत्रमा कुल ११ हजार २०५ जना कर्मचारीहरू मात्रै छन् ।
बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार हाल जीवन बीमा कम्पनीमा ५ हजार ६८२ जना कर्मचारी रहेका छन् । यता, निर्जीवन बीमा तर्फ भने ५ हजार ५२३ जना कर्मचारी रहेको देखिएको छ । शाखा कार्यालय पनि जीवन बीमा कम्पनीको शाखा कार्यालय १ हजार ७८९ छ भने निर्जीवनको १ हजार १२ वटा रहेका छ ।
विशेषगरि गत वर्ष बीमा कम्पनीहरूको मर्जरको लहर चलेको थियो । अधिकांश कम्पनीहरू मर्जरमा गएका कारण पनि कर्मचारीको सङ्ख्यामा कमी आएको बताइन्छ । मर्जरले कर्मचारीहरूको सङ्ख्या मात्रै होइन बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्या पनि घटेको छ । एक वर्षमा ५६५ वटा बीमा कम्पनीको कार्यालयको अस्तित्व सकिएको छ । मर्जरकै कारण एक वर्षमा बीमा कम्पनीहरूको कार्यालय सङ्ख्यामा १६.७९ प्रतिशतको गिरावट आएको हो । हाल बीमा कम्पनीहरूको २ हजार ८०१ वटा कार्यालयहरू सञ्चालनमा छन् । तर, गत वर्ष २०७९ असार मसान्तसम्ममा भने ३ हजार ३६६ वटा कार्यालयहरू अस्तित्वमा रहेका थिए । मर्जरपछि शाखा कार्यालय समायोजन गर्दा नै सङ्ख्या घटेको प्राधिकरणले जनाएको छ ।
जागिरका लागि बीमा क्षेत्र पनि आकर्षण केन्द्रका रूपमा लिने गरिन्छ । सेवा, सुविधा र पारिश्रमिकका हिसाबले पनि बीमा कम्पनीको जागिर राम्रो नै मानिन्छ । कतिपयले बैङ्कको जागिर छोडेर पनि बीमा क्षेत्र आबद्ध हुनेको सङ्ख्या पनि उत्तिकै बढ्दो नै मानिन्छ । तर, पछिल्लो समय देखिएको आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको हो । ‘आर्थिक सङ्कटका कारण मानिसको बीमा गर्ने क्षमता घटेको छ । त्यसले असर बीमा कम्पनीहरूको व्यवसायमा परेको छ । यसरी व्यवसाय प्रभावित हुँदा पनि बीमा कम्पनीहरूले उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न सकिरहेको अवस्था छैन’–एक विज्ञले भने,–‘यस्ता कारण बीमा क्षेत्रमा रोजगारी घटेको हो । विशेषगरि पछिल्लो समय बीमा कम्पनीहरूको मर्जरका कारणले नै कार्यालयको सङ्ख्या घटेको हो ।’
बीमा प्राधिकरणले लिएको पुँजी वृद्धिको नीतिका कारण पनि पछिल्लो समय थुप्रै बीमा कम्पनीहरू मर्जरका गएका छन् । ‘मर्ज भएका कम्पनीहरूमा कर्मचारीको सङ्ख्या बढी हुन गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै अधिकांश कम्पनीहरूले विभिन्न सुविधामा स्वैच्छिक अवकाश नीति ल्याएर कर्मचारी बिदाइ गरेका छन् । त्यसले गर्दा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको सङ्ख्या घटेको हो’–प्राधिकरणका अधिकारीले बताए । कम्पनीहरूको सङ्ख्या घटेपछि कर्मचारीहरूको सङ्ख्या पनि घट्नु स्वाभाविक रहेको उनको भनाई छ ।