जीवन बीमा क्षेत्र: रोजगारी दिन हिमालयन र सूर्य ज्योति लाइफ अब्बल, कुन कम्पनीमा कति कर्मचारी ?

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै रोजगारी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । सञ्चालनमा रहेका मध्ये सबैभन्दा धेरे कर्मचारी हिमालयन लाइफमा आबद्ध छन् ।
हाल जीवन बीमा क्षेत्रमा कुल ५ हजार ६८२ जना कर्मचारीहरू आबद्ध छन् । तर, यसमा सबैभन्दा धेरे हिस्सा हिमालयन लाइफको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार हिमालयन लाइफमा ७९० जना कर्मचारीहरू आबद्ध छन् । देशका २१८ वटा शाखा सञ्जाल मार्फत आफ्नो व्यवसाय विस्तार गरेको कम्पनी आक्रामक रूपमा अघि बढी रहेको छ । हिमालयन लाइफमा आबद्ध ७९० जनामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । बागमतीमा कम्पनीले २८९ जना कर्मचारी परिचालन गरी जीवन बीमा व्यवसाय गर्दै आएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा छन् । सो प्रदेशमा कम्पनीका १३० जना कर्मचारी आबद्ध छन् । हिमालयन लाइफ विशेष गरी साबिकको प्राइम लाइफ, युनियन र गुराँस लाइफ एक आपसमा मर्ज भई बनेको हो । तीन वटा कम्पनीका कर्मचारी एकै ठाउँमा आउँदा नै सङ्ख्या बढी हो ।
हिमालयन लाइफलाई पोर्टफोलियो र व्यवस्थापनमा निकै नै बलियो मानिन्छ । पछिल्लो समय कम्पनी व्यवसाय विस्तारमा पनि तीव्रताका साथ अघि बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् गत साउनमा मात्रै कम्पनीले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । साउनमा कम्पनीले २० करोड ६० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको थियो । सो अवधिसम्ममा कम्पनीले ५ हजार ५७० वटा बीमालेख बिक्री गरेको छ ।
यस्तै, सूर्य ज्योति लाइफसँग पनि धेरै कर्मचारी आबद्ध छन् । जीवन बीमा क्षेत्रको रोजगारीमा कम्पनीले दोस्रो ठुलो योगदान दिएको छ । कम्पनीमा हाल ६१८ जना कर्मचारी आबद्ध छन् । कम्पनी देशभर १८२ वटा शाखा कार्यालय मार्फत सेवा विस्तार तथा व्यवसाय गर्दै आएको छ । सूर्य ज्योति पनि सबैभन्दा धेरै बागमतीमा नै केन्द्रित छ । सो प्रदेशमा कम्पनीका २५३ जना कर्मचारी छन् भने ४९ वटा शाखा कार्यालयहरू छन् । साबिकको सूर्य लाइफ र ज्योति लाइफ मिलेर बनेको कम्पनीले पनि आफ्नो व्यवसाय व्यापक रूपमा विस्तार गरेको छ। पछिल्लो तथ्याङ्क अर्थात् गत साउनमा मात्रै कम्पनीले १ अर्ब बढीको व्यवसाय गरेको छ ।
रोजगारी दिनेमा नेपाल लाइफ तेस्रो स्थानमा छ । व्यावसायिक हिसाबमा ठुलो मानिएको नेपाल लाइफमा भने ६०० जना कर्मचारी आबद्ध छन् । कम्पनीले देशभरका १९६ वटा शाखा कार्यालय मार्फत व्यवसाय गर्दै आएको छ । कम्पनीका कर्मचारी र शाखा कार्यालय बागमती प्रदेशमा नै धेरै देखिएका छन् । बागमतीमा कम्पनीमा आबद्ध २७१ जना कर्मचारी र ५८ वटा शाखा कार्यालय रहेका छन् । कम्पनीले गत साउनमा मात्रै ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । साउनमा कम्पनीले २० हजार २७० वटा बीमालेख बिक्री गरेको थियो ।
यस्तै, नेशनल लाइफ इन्स्योरेन्समा पनि ४९१ जना कर्मचारी रहेका छन् । कम्पनीले देशभरका ११६ वटा शाखा कार्यालय मार्फत आफ्ना व्यवसाय गर्दै आएको छ । यता, सानिमा रिलायन्समा पनि ४८० जना कर्मचारी आबद्ध छन् । कम्पनीको देशभर १७१ वटा शाखा रहेको छ ।
त्यसैगरि एशियन लाइफमा ४३४ जना, प्रभु महालक्ष्मीमा ४२५ जना, सन नेपाल लाइफमा ३८० जना, सिटिजन लाइफमा ३६२ जना, रिलायवल नेपालमा ३२४ जना कर्मचारी आबद्ध छन् । सबैभन्दा कम कर्मचारी राष्ट्रिय बीमा संस्थानमा छन् । सो कम्पनीमा हाल ९७ जना मात्रै कर्मचारी आबद्ध छन् ।
प्राधिकरणका अनुसार आइएमई लाइफमा २६६ जना, लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल) मा २४४ जना, मेट लाइफमा १७१ जना कर्मचारी आबद्ध रहेका छन् ।
जागिरका लागि बीमा क्षेत्र पनि आकर्षण केन्द्रका रूपमा लिने गरिन्छ । सेवा, सुविधा र पारिश्रमिकका हिसाबले पनि बीमा कम्पनीको जागिर राम्रो नै मानिन्छ । कतिपयले बैङ्कको जागिर छोडेर पनि बीमा क्षेत्र आबद्ध हुनेको सङ्ख्या पनि उत्तिकै बढ्दो नै मानिन्छ । समग्रमा बीमा कम्पनीहरू धेरै रोजगार वृद्धि गर्ने क्षेत्रमा पर्छ ।यद्यपि, पछिल्लो समय आर्थिक सङ्कट तथा मर्जरका कारण पनि यस क्षेत्रबाट रोजगारी वृद्धि हुन भने सकिरहेको छैन ।