तीन महिनामा ३ अर्ब ६४ करोडको बीमालेख सरेन्डर, २९ हजार बढी पोलिसी बन्द
काठमाडौं । तीन महिनामा बीमा पोलिसी त्याग (सरेन्डर) साढे ३ अर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ३ अर्ब बराबरको २९ हजार बढी जविन बीमा पोलिसी सरेन्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार तीन महिनामा ३ अर्ब ६४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । समिक्षा अवधिमा भने २९ हजार १२० वटा बीमालेख बन्द भएका छन् । पछिल्लो समय अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।
विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर संख्या र सरेन्डर रकम बढ्दै गएको देखिन्छ । बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।
चालु आवको पहिलो महिना अर्थात् गत साउनमा १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको थियो । त्यसपछि भदौमा भने केही नियन्त्रण भएको देखिन्छ । प्राधिकरणका अनुसार गत भदौमा १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको ९ हजार २८६ वटा बीमा पोलिसी सरेन्डर भएको थियो । असोजमा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९३६ वटा पोलिसी सरेन्डर भएको देखिन्छ ।
पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ बर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक बर्षदेखि त्यसको न्यूनतम सिमा तीन बर्ष पुर्याइएको बीमा प्राधिकरणले जनाएको छ । यसले सरेन्डर दर कम गर्ने प्राधिकरणले जनाएको छ । यसको प्रभाव विस्तारै देखिने प्राधिकरणको भनाई छ ।
बीमा अभिकर्ताहरुले कमिशनको लोभमा बीमा गराउँदा पनि बीमालेख त्याग्नेको संख्या बढेको जानकारवालाहरु बताउँछन् । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढेको उनीहरुको तर्क छ ।
आर्थिक संकटकै कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको छ । बजार महंगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको बताइन्छ ।
एक महिनामा साढे ९ हजार पोलिसी बन्द, नेपाल लाइफको सबैभन्दा धेरै
असोज महिनामा मात्रै ९ हजार ९३६ वटा बीमालेख बन्द भएको छ । सो महिनामा जीवन बीमा कम्पनीहरुका बीमितले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफको देखिएको छ । असोजमा मात्रै कम्पनीको ३८ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ६४९ वटा बीमालेख सरेन्डर भएको छ ।
सरेन्डर रकम र संख्याको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल देखिएको छ । असोजमा मात्रै कम्पनीको २६ करोड २ लाख रुपैयाँ बराबरको १ हजार ८१५ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको सरेडन्डर रकम ९ करोड ७१ लाख, नेशनल लाइफको ९ करोड ४९ लाख, सूर्यज्योति लाइफको ८ करोड ८५ लाख र हिमालयन लाइफको ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । यी कम्पनीहरुको क्रमश: १ हजार ६५, ८४९, ६२१ र ८५५ वटा बीमालेख बन्द भएको हो ।
यता, एशियन लाइफको पनि ६ करोड ५१ लाख रुपैयाँ बराबरको ७५८ वटा, मेट लाइफको ३ करोड ६७ लाख रुपैयाँ बराबरको ४०८ वटा, सानिमा रिलायन्सको १ करोड ६१ लाख बराबरको १४३ वटा, प्रभु महालक्ष्मीको १ करोड २६ लाख रुपैयाँ बराबरको ११४ वटा,आइएमई लाइफको १ करोड ५२ लाख बराबरको १६४ वटा, सिटिजनको १ लाख १४ हजार बराबरको २५६ वटा बीमालेख सरेन्डर भएको छ ।
यस्तै, असोजमा रिलायवल नेपालको ९५ लाख रुपैयाँ बराबरको १६४ वटा र सन नेपाल लाइफको ७९ लाख रुपैयाँ बराबरको ७५ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।