अभिकर्ता खुसी पार्न सूर्यज्योति, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी खप्पिस, कसले कति बढाए कमिसन ? « Arthapath.com
८ मंसिर २०८०, शुक्रबार

अभिकर्ता खुसी पार्न सूर्यज्योति, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी खप्पिस, कसले कति बढाए कमिसन ?



काठमाडौं । आफ्ना अभिकर्ता खुसी पार्न मर्जरमा गएका जीवन बीमा कम्पनीहरू खप्पिस देखिएका छन् । उनीहरूले अभिकर्ता कमिसनका लागि छुट्टाउने रकममा उल्लेख्य वृद्धि देखिएको छ । अभिकर्ता कमिसन वृद्धिदरमा सानिमा रिलायन्स, सूर्यज्योति र प्रभु महालक्ष्मी लाइफ अगाडी देखिएका हुन् । 

कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । मर्जरमा गएका कम्पनीहरूले नै अभिकर्ता शतप्रतिशतसम्म वृद्धि गरेका छन् । 

सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्टाएका छन् । तर, गत आवको सोही अवधिको तुलनामा भने सामान्य मात्रै बढोत्तरी देखिएको हो । गत वर्षको पहिलो त्रैमासमा पनि कम्पनीहरूले सोही बराबरको रकम अभिकर्ता कमिसनका लागि छुट्टाएका थिए । 

साबिकको सानिमा र रिलायन्स लाइफ मिलेर बनेको सानिमा रिलायन्स कम्पनीले अभिकर्ताका लागि छुट्टाउने कमिसन १०९ प्रतिशतले बढाएको हो । तीन महिनामा कम्पनीको यस्तो कमिसन १५ करोड १२ लाख रुपैयाँ पुगेको छ । तर, गत आवको पहिलो त्रैमासमा भने ७क रोड २० लाख रुपैयाँ मात्रै छुट्टाएको थियो ।

यस्तै, कमिसन वृद्धिदरको आधारमा दोस्रो स्थानमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले पनि आफ्ना अभिकर्ताका लागि छुट्टाउने कमिसन ८०.०८ प्रतिशतले बढाएर २१ करोड २७ लाख रुपैयाँ पुर्‍याएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीहरूले ११ करोड ८१ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्टाएको थियो । 

यता, प्रभु महालक्ष्मी लाइफले गत आवको पहिलो त्रैमासमा ७ करोड ८६ लाख रुपैयाँ छुट्टाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने ७१.८५ प्रतिशतले बढाएर १३ करोड ५१ लाख रुपैयाँ पुर्‍याएको छ ।  

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेबापत कमिसन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको सङ्ख्याको आधारमा निर्धारण हुने गर्दछ । 

गत वर्षको असोज मसान्तसम्मको तुलनामा अधिकांश कम्पनीहरूले अभिकर्ता  कमिसनका लागि छुट्टाउने रकम घटाएका छन् । नेपाल लाइफ, हिमालयन र मेट लाइफले भने गत वर्षको पहिलो त्रैमासकै हाराहारीमा कमिसन छुट्टाएका छन् । 

समीक्षा अवधिमा नेपाल लाइफले ८१ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्टाएको छ । नेपाल लाइफ व्यवसायका आधारमा ठुलो कम्पनी हो । कम्पनीमा कर्मचारी तथा अभिकर्ताहरूको सङ्ख्या  पनि उत्तिकै धेरै छन् । त्यसका आधारमा भने अभिकर्ताका लागि छुट्टाएको रकम सामान्य नै हो । गत वर्षको पहिलो त्रैमासमा पनि कम्पनीले ८३ करोड १५ लाख बढी रकम छुट्टाएको थियो । 

यस्तै, हिमालयन लाइफले ३६ करोड १ लाख र मेट लाइफले १२ करोड २६ लाख रुपैयाँ अभिकर्ताका लागि छुट्टाएका छन् । गत वर्षको तुलनामा भने सामान्य गिरावट देखिन्छ । 

समीक्षा अवधिमा आइएमई लाइफले १० करोड ७१ लाख रुपैयाँ, रिलायवल नेपालले ११ करोड ९२ लाख,  नेशनल लाइफले ३६ करोड ९६ लाख, एशियनले १६ करोड ५६ लाख, एलआइसी नेपालले ३० करोड ६२ लाख, सिटिजनले १५ करोड ८७ लाख,  सन नेपालले ८ करोड ३ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्टाएका थिए ।

कुन कम्पनीको अभिकर्ता कमिसन कति ?


प्रतिक्रिया दिनुहोस्