वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको १७ लाख ८५ हजार बीमालेख सक्रिय, ८९ करोड प्रिमियम कलेक्सन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाटै ८९ करोड बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक तथ्याङ्कले यस्तो देखाएको हो ।
चार महिनामा कम्पनीहरूले ८९ करोड ८ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । हाल वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कुल १७ लाख ८५ हजार ५७३ वटा बीमालेख सक्रिय देखिएको छ ।
कात्तिक महिनामा मात्रै कम्पनीहरूले २० करोड ५१ लाख १२ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट आर्जन गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू अनिवार्य रूपमा म्यादी बीमा गर्नुपर्दछ । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
गत असोजमा पनि कम्पनीहरूले २३ करोड ७५ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत नै उठाएका थिए । असोजमा कम्पनीहरूले कुल ५७ हजार ३७८ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क उठाएका थिए ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल नेपाल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका छन् ।
चार महिनामा सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले आर्जन गरेको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले वैदेशिक रोजगार बीमाबाट २१ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको ७ लाख ३५ हजार ४८५ वटा बीमालेख सक्रिय देखिएको छ ।
यस्तै, नेपाल लाइफले पनि २० करोड १५ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट सङ्कलन गरेको छ । कम्पनीमा ३ लाख ६ हजार ४९९ वटा बीमालेख सक्रिय देखिएको छ ।
समीक्षा अवधिमा आइएमई लाइफले ११ करोड ९ लाख, नेशनल लाइफले ७ करोड ८ लाख, सूर्यज्योतिले ६ करोड ६८ लाख , एशियनले ६ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट उठाएका छन् । यी कम्पनीहरूमा क्रमशः १ लाख ३७ हजार ९० वटा, ४९ हजार ५०८ वटा, २ लाख ७६ हजार ६०५, २२ हजार ९२५ वटा वैदेशिक बीमालेख सक्रिय देखिएको छ।
त्यसैगरि चालु आवको चार महिनामा रिलायवल नेपालले ५ करोड ८९ लाख, सानिमा रिलायन्सले ५ करोड ७६ लाख, सिटिजनले ४ करोड २० लाख र प्रभु महालक्ष्मी लाइफले १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यी कम्पनीहरूमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको क्रमशः ५६ हजार २०३, ७६ हजार ८७८, १ लाख १९ हजार १६४ र ५ हजार २१६ वटा बीमालेख सक्रिय छन् ।