जीवन बीमा: ३ महिनामै बीमालेख धितोमा डेढ अर्ब कर्जा प्रवाह, कुन कम्पनीका बीमितले कति लिए ऋण ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले तीन महिनामा डेढ अर्ब रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा १ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बीमितलाई कर्जा दिएका हुन् । आर्थिक शिथिलताका बाबजुद पनि कम्पनीहरूले तीन महिनामै सो बराबरको कर्जा बीमितलाई दिएका हुन् ।
जीवन बीमा कम्पनीहरूबाट बीमितले बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन पाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । जीवन बीमा लेख सम्बन्धी निर्देशिकाअनुसार बीमा सुरु भएको तीन वर्ष पूरा पुगेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।
गत आवको सोही अवधिको तुलनामा बीमालेख धितो कर्जा दोहोरो अङ्कले घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीहरूले १ अर्ब ८३ करोड बढी कर्जा प्रवाह गरेका थिए ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालका बीमितले लिएका छन् । कम्पनीले सो अवधिमा ५३ करोड १८ लाख रुपैयाँ धितो कर्जा प्रवाह गरेको छ ।
यस्तै, नेशनल लाइफ इन्स्योन्सका बीमितले पनि तीन महिनामा २१ करोड ६१ लाख रुपैयाँ बीमालेख धितो राखी कर्जा लिएका छन् । तेस्रो स्थानमा रहेको हिमालयन लाइफले पनि आफ्ना बीमितलाई २० करोड ४८ लाख रुपैयाँ धितो कर्जा प्रवाह गरेको छ ।
यस्तै, एशियन लाइफले तीन महिनामा १४ करोड ४८ लाख, नेपाल लाइफले ११ करोड ५६ लाख, सूर्यज्योति लाइफले ११ करोड ५० लाख रुपैयाँ बीमालेख धितो राखी बीमितलाई ऋण दिएका छन् ।
त्यसैगरि राष्ट्रिय जीवन बीमा कम्पनीका बीमितले ५ करोड ५५ लाख, मेट लाइफको ५ करोड १० लाख, सिटिजनको १ करोड ८० लाख, सानिमा रिलायन्सको १ करोड ५१ लाख, प्रभु महालक्ष्मीले १ करोड १० लाख रुपैयाँ धितो कर्जा लिएका छन् ।
यता, सन नेपाल लाइफले ५० लाख रिलायवल नेपालले २७ लाख र आइएमई लाइफले भने १६ लाख रुपैयाँ धितो कर्जा बीमितलाई दिएका छन् ।
Company | Policy Loan |
LIC Nepal | 531,840 |
National Life | 216,133 |
Himalayan Life | 204,834 |
Asian Life | 144,895 |
Nepal Life | 115,612 |
Surya Jyoti Life | 115,077 |
Rastriya Jeevan Beema | 55,556 |
Met Life | 51,062 |
Citizen Life | 18,090 |
Sanima Reliance Life | 15,170 |
Prabhu Mahalaxmi Life | 11,052 |
Sun Nepal Life | 5,027 |
Reliable Nepal | 2,776 |
IME Life | 1,671 |
Total | 1,488,805 |