लुम्बिनीमा प्राधिकरणको बीमा अन्तरक्रिया: दाबी भुक्तानी ढिलाई गर्ने कम्पनीलाई कारबाही गर्न माग « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

लुम्बिनीमा प्राधिकरणको बीमा अन्तरक्रिया: दाबी भुक्तानी ढिलाई गर्ने कम्पनीलाई कारबाही गर्न माग



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाबी भुक्तानीमा ढिलाई गर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशमा आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम मुख्यी मन्त्री चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरूलाई कारवाही गर्न आग्रह गरेका हुन् । उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन समेत अग्रह गरे ।

सोही अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको बताए । यसका लागि बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

उनले भने,‘बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, आम नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्‍याउन जोड दिइएको छ ।’

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी समेत गराएका थिए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरूले ढिलाई गर्ने गुनासो गरेका थिए । यस्तै, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषिबीमा विस्तार हुन नसकेको गुनासो राखेका थिए । सोही अवसरमा हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरेका थिए ।

यसैगरी, बीमा कम्पनीहरूले अनिवार्य बीमा बाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाई, भैंसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएको लगायतका धारणा सहभागीहरूले राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्