अपुग चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीलाई थप सहजता, प्रिमियम कोषको रकम लाभांशको रुपमा बाँड्न पाउने

काठमाडौं । प्रिमियममा आइपिओ जारी गरेका बीमा कम्पनीहरूले प्रिमियम बापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउने भएका छन् । बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पुर्याउन सहजता प्रदान गर्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले यस्तो नीति ल्याएको हो ।
प्रिमियममा सेयर जारी गरेका कम्पनीले प्रिमियम बापत भएको आम्दानी (किताबी मूल्य १०० भन्दा माथिको) छुट्टै कोषमा राखेका छन् । सो रकम अब लाभांश (बोनस सेयर) मार्फत लगानीकर्तालाई बाँडेर पुँजी बढाउन पाउने व्यवस्था प्राधिकरणले गरेको हो । प्राधिकरणले यसअघि बीमा कम्पनीहरूलाई पुँजी बढाउन हकप्रद ल्याउन दिने व्यवस्था पनि गरिसकेको छ ।
पछिल्लो नीतिअनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँमा न्यूनतम नियामकीय चुक्ता पुँजी कायम गर्नुपर्नेछ । तर, अझै धेरै कम्पनीले त्योअनुसार चुक्ता पुँजी बढाउन सकेका छैनन् । पटक–पटक समय थप गर्दा पनि बीमा कम्पनीहरूले चुक्ता पुँजी बढाउन सकेका छैनन् । त्यस क्रममा प्राधिकरणले प्रिमियम मार्फत आएको पैसालाई चुक्ता पुँजीमा थप्न मिल्ने व्यवस्था गरेको हो ।
कम्पनी ऐनले नै उक्त व्यवस्था गरेको प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बताए । उनले भने,‘कम्पनीहरूले सेयर जारी गरेका बापत भएको आम्दानी छुट्टै कोषमा राखेका छन् । उक्त रकम लाभांश अर्थात् बोनस सेयर मार्फत लगानीकर्तालाई बाँडेर नै पुँजी बढाउन सक्ने ऐनमा उल्लेख छ ।’
हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ शेयर निष्कासन गरेका छन् । त्योअनुसार पछिल्लो नीति उक्त कम्पनीहरूलाई पुँजी बढाउन सहज हुने देखिन्छ ।
हाल ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन लाइफको प्रिमियम कोषमा १ अर्ब ५५ करोड रुपैयाँ पैसा छ । हाल ४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आइएमई लाइफको प्रिमियम कोषमा भने १ अर्ब ५३ करोड रुपैयाँ पैसा छ । ४ अर्ब नै चुक्ता पुँजी रहेको रिलायवल नेपालको प्रिमियम कोषमा पनि १ अर्ब ७५ करोड रकम छ ।
यसै गरी हाल ३ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सन नेपालको प्रिमियम कोषमा १ अर्ब ८० करोड रुपैयाँ रकम छ । अब उक्त कम्पनीहरूले प्रिमियम कोषमा रहेको पैसा लाभांश (बोनस) शेयर मार्फत चुक्ता पुँजीमा थप गर्न सक्नेछन् ।
हाल नेपालमा १४/१४ वटा निर्जीवन तथा निर्जीवन बीमा कम्पनी छन् । त्यसमा जीवन बीमा तर्फ नेपाल लाइफ, हिमालयन र नेशनल लाइफको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । यसै गरी निर्जीवन तर्फ प्रिमियर, सगरमाथा लुम्बिनी, शिखर र आईजीआई प्रुडेन्सियलले तोकिएअनुसार पुँजी पुराइसकेका छन् । यसबाहेक अन्य कम्पनीको चुक्ता पुँजी पुग्न बाँकी छ ।
यसअघि जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँको न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । तर, प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने गरी नयाँ निर्णय गरेको थियो । त्यसपछि पुँजी बढाउन थुप्रै बीमा कम्पनी मर्ज समेत भइसकेका छन् । तर, पनि अधिकांश कम्पनीको चुक्ता पुँजी बढ्न सकेको छैन ।