भूकम्प पीडितका लागि हिमालयन एभरेष्टले दियो साढे १० लाख, सिईओ शाहद्वारा चेक हस्तान्तरण

काठमाडौं । हालसालै मात्रै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले जाजरकोट/रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत स्वरूप १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
गत कार्तिक १७ गते मध्यरात जाजरकोट र रुकुम पश्चिमका केही भागहरूमा गएको विनाशकारी भूकम्पले स्थानीयको घर गोठहरू भत्किएका थिए । भूकम्पले ठुलो भौतिक क्षति हुनुको साथै मानवीय क्षति समेत हुन भएको थियो ।
उक्त क्षतिबाट स्थानीय जनतामा परेको आर्थिक क्षतिमा कम्पनीको तर्फबाट सहानुभूति पूर्वक सो सहयोग उपलब्ध गराइएको कम्पनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय बहादुर शाहले बताए ।
सहयोग बापतको उक्त रकम कर्णाली प्रदेशका स्थानीय मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई हस्तान्तरण गरिएको थियो । एक कार्यक्रमका बिच कम्पनीका सीइओ शाहले चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्र जिसीले बीमा सचेतनामा अभिवृद्धि तथा स्थानीय जनतालाई बीमाको दायरामा ल्याउन विशेष योजना बनाइने बताए । सङ्घीयताको मर्मलाई आत्मसात् गर्दै सहयोग रकम कर्णाली प्रदेश सरकार कै विपद् कोषमा जम्मा हुने व्यवस्था गरिएकोमा कम्पनीलाई विशेष धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारको प्रमुख सचिव चूडामणि पौडेल, बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पद्म सोडारी, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक निर्गुण प्रकाश सिंह तथा कम्पनीका स्थानीय शाखा प्रमुखको उपस्थिति रहेको थियो ।