निर्जीवन लघुबीमा कम्पनीले ५० लाखसम्मको ‘मोटर बीमा’ गर्न सक्ने, तेस्रो पक्ष बीमा हुनुपर्ने व्यवस्था « Arthapath.com
२३ पुष २०८०, सोमबार

निर्जीवन लघुबीमा कम्पनीले ५० लाखसम्मको ‘मोटर बीमा’ गर्न सक्ने, तेस्रो पक्ष बीमा हुनुपर्ने व्यवस्था



काठमाडौं । अब लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न सक्ने भएका छन् । लघुबीमाको व्यावसायिक दायरा बढाउन नेपाल बीमा प्राधिकरणले संशोधन गरेको लघुबीमा निर्देशनले यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको हो । पुस १८ गते बसेको सञ्चालक समितिले उक्त संशोधित निर्देशन स्वीकृत गरेको हो । योसँगै अब लघु निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ५० लाखसम्मको मोटर बीमा गर्न सक्ने भएका हुन् ।

‘निर्जीवन लघुबीमा कम्पनीहरूलाई मोटर लघुबीमा अन्तर्गत अधिकतम दायित्वको सीमा ५० लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्था तुरुन्तै लागू हुनेछ’प्राधिकरणले भन्यो । तर, मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम मोटर तेस्रो पक्ष बीमा हुनुपर्ने प्राधिकरणले जनाएको छ । 

मोटर लघुबीमा ट्रेलर, ट्र्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने, कृषि उपकरण, मोटरसाइकल, मोपेड, ट्याम्पो, रिक्सा र ठेला गाडाको मात्रै लघुबीमा कम्पनीले बीमा गर्न सक्ने व्यवस्था गरेको छ । 

यता, यसअघि नै प्राधिकरणले निर्जीवन लघुबीमातर्फ घर, सम्पत्ती तथा व्यवसाय बीमा पनि ५० लाख रुपैयाँसम्मको गर्नसक्ने सीमा तोकिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्