रोकिएन बीमालेख सरेन्डर बढ्ने प्रवृत्ति: ४५ हजार बीमितले त्यागे पोलिसी, नेपाल लाइफकै १३ हजार « Arthapath.com
१० माघ २०८०, बुधबार

रोकिएन बीमालेख सरेन्डर बढ्ने प्रवृत्ति: ४५ हजार बीमितले त्यागे पोलिसी, नेपाल लाइफकै १३ हजार



 काठमाडौं । आर्थिक शिथिलताका कारण जीवन बीमा पोलिसी सरेन्डर बढ्ने प्रवृत्ति निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा पोलिसी सरेन्डर रकमका आधारमा ६.१४ प्रतिशत र सङ्ख्याको आधार २२ प्रतिशत बढेको छ । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त मङ्सिर महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । मङ्सिरसम्म ५ अर्ब ५३ करोड ३ लाख को पोलिसी सरेन्डर भएको छ । गत आवमा सोही अवधिमा ५ अर्ब २१ करोड ४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । 

सङ्ख्याको आधारमा यो अवधिमा ४४ हजार ९५५ वटा पोलिसी सरेन्डर भएको छ, गत आवको सोही अवधिमा ३६ हजार ९३३ वटा पोलिसी सरेन्डर भएको थियो । 

यसपालि गएको वर्षको तुलनामा धेरै नै बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । बिशेषगरि आर्थिक शिथिलताका कारण बीमालेख सरेन्डर बढ्दै गएको विज्ञहरू बताउँछन् । पछिल्लो समय आर्थिक शिथिलताका कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महँगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नवकिरण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा फिर्ता लिने गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।  

‘पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण बीमा व्यवसाय पनि बढ्न सकेको छैन । साथै, बीमालेख सरेन्डर हुने क्रम पनि बढेको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसका अलावा बीमा पोलिसी ल्याप्स भएर पनि बसेका छन् ।’ 

बीमितले तोकिएको समयमा बीमाशुल्कको किस्ता नतिरेपछि पोलिसी ल्याप्स (निष्क्रिय) भएर बस्छ । पछि बीमाशुल्क तिरेपछि उक्त पोलिसी पुनः सक्रिय हुन्छ । तर, त्यस बिचमा बीमितको जोखिम भने कभर हुँदैन । तर, अहिले पोलिसी सरेन्डर नै हुने गरेको छ । 

यस्तै, पोलिसी सरेन्डरमा बीमा अभिकर्ताको रणनीतिक धन्दा पनि हुन सक्ने प्राधिकरणका अधिकारी बताउँछन् ।  ‘प्राधिकरणले दुई वर्ष अघिदेखि पोलिसी सरेन्डरमा कडाइ गरेको  छ । तर, त्यो त्यस भन्दा अघिका पुरानो बीमा पोलिसीमा लागू हुँदैन । त्यस्तै खाले पोलिसी सरेन्डर गरेर अभिकर्ताहरू पैसा कमाउन लागेको हुन सक्छन्,’ प्राधिकरणका ति अधिकारीले भने, ‘यद्यपि, यो शङ्का मात्रै हो । यसबारे हामीले छुट्टै अध्ययन गर्छौ ।’

बीमा गराउँदा पहिलो र दोस्रो किस्तामा अभिकर्ताहरूले बढी कमिसन पाउँछन् । त्यो अवस्थामा अभिकर्ताहरूले दुई दुई वर्षमा पोलिसी सरेन्डर गराउँदै बीमा गराउँदै गरेर धेरै कमिसन कमाउने बाटोमा गएका थिए । त्यसपछि प्राधिकरणले ३ वर्ष पुगेपछि मात्रै पोलिसी सरेन्डर गर्न पाउने नीति ल्याएको थियो । जुन नयाँ पोलिसीमा मात्रै लागू हुन्छ । पुरानो पोलिसीमा भने त्यो लागू हुँदैन । त्यस्तै प्रकृतिका पुराना पोलिसी सरेन्डर गरेको हुन सक्ने बताइएको छ । यद्यपि, अहिले सरेन्डर बढ्नुको मुख्य कारण आर्थिक सङ्कट नै भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

नेपाल लाइफको सबैभन्दा धेरै सरेन्डर, पाँच महिनामै झन्डै २ अर्बको बीमालेख फिर्ता

समीक्षा अवधिमा नेपाल लाइफका बीमितले सबैभन्दा धेरै बीमालेख सरेन्डर गरेका छन् । पाँच महिनामा १२ हजार ७१७ वटा बीमालेख सरेन्डर भएको छ । सो अवधिमा कम्पनीको १ अर्ब ८९ करोड २४ लाख रुपैयाँ बराबरको सरेन्डर भएको छ । 

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको पनि ५ महिनामा १ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको ८ हजार ७६४ वटा बीमालेख सरेन्डर भएको छ । 

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ९६ वटा, एसियन लाइफको ४ हजार ३४६, हिमालयन लाइफको ३ हजार ९९७, नेशनलको २ हजार ६५२,  सूर्य ज्योति लाइफको २ हजार १११ र मेट लाइपको १ हजार ७५७ वटा बीमालख बीमितले बन्द गराएका छन् । 

कुन कम्पनीको कति ?

स्रोत: नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्