बीमा कम्पनीहरूलाई पारदर्शी बनाउँदै प्राधिकरण: सबै सूचना र तथ्याङ्क अब ‘आईआरएमआईएस’ पोर्टलमा « Arthapath.com
१० माघ २०८०, बुधबार

बीमा कम्पनीहरूलाई पारदर्शी बनाउँदै प्राधिकरण: सबै सूचना र तथ्याङ्क अब ‘आईआरएमआईएस’ पोर्टलमा



काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको तथ्याङ्क पारदर्शी बनाउने भएको छ । 

प्राधिकरणले बीमकसँगको सूचना तथा तथ्याङ्कमा पारदर्शिता ल्याउनका लागि इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्भफरमेसन सिस्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन, २०८० जारी गरेको छ । जुन, गत मङ्सिर १३ गते नै प्राधिकरणले स्वीकृत गरेको थियो ।  

प्राधिकरण तथा बीमकको तथ्याङ्क व्यवस्थापन  एवं कामलाई प्रभावकारी र पारदर्शी बनाउन प्राधिकरणले उक्त मार्गदर्शन लागू गरेको जनाएको छ । अब प्राधिकरण तथा बीमकले बीमा व्यवसायसँग सम्बन्धित सूचना तथा तथ्याङ्क आईआरएमआईएस पोर्टल मार्फत आदान प्रदान हुनेछ । 

बीमकले प्राधिकरणबाट माग गरेका तथ्याङ्कहरू मार्गदर्शन अनुसार तोकिएको समयावधिभित्र पोर्टलमा प्रविष्ट गर्नुपर्नेछ । पोर्टल चलाउनका लागि लगइन आइडी चाहिने छ । त्यसका लागि प्राधिकरणले आफ्ना कर्मचारी तथा बीमकबाट पोर्टल चलाउन अधिकार प्राप्त कर्मचारीहरूको लागि छुट्टाछुट्टै लगइन आइडीको व्यवस्था गरिने बताइएको छ । 

बीमकले आईआरएमआईएस पोर्टलको प्रयोगका लागि तथ्याङ्क इन्ट्रि गर्ने,  रुजू गर्ने तथा प्रमाणीकरण गर्ने तीन तहको प्रयोगकर्ताको व्यवस्था गर्नुपर्नेछ । आईआरएमआईएसमा प्राधिकरणले तथ्याङक माग गरे/नगरेको नियमित रूपमा चेकजाँच गरी अद्यावधिक अवस्थामा रहनु पर्नेछ, पोर्टलमा इन्ट्रि गरिएको तथ्याङ्क वास्तविक नभएमा वा गलत तथ्याङक पठाएमा त्यसको जिम्मेवारी बीमकले बहन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।  


प्रतिक्रिया दिनुहोस्