निर्जीवन बीमा व्यवसाय: मर्जर बिना नै पहिलो स्थानमा शिखर, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर

काठमाडौं । ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढीको व्यापार गरेका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सको देखिएको छ । शिखरले मर्जर बिना नै आफ्नो व्यावसायिक स्थान पहिलो नै बनाएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १ लाख ५० हजार ७२२ वटा बीमालेख बिक्री गरेको छ । पुसमा मात्रै पनि कम्पनीले २८ हजार ४४ वटा बीमालेख बिक्री गरि ८७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
गत वर्षदेखि अधिकांश बीमा कम्पनीहरु एक आपसमा गाभिएर एककिृत कारोबार समेत गरेका छन् । मर्जरले कम्पनीहरुको व्यवसायिक क्षमता पनि बढेको छ । तर, मर्जर बिना नै शिखर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा आफ्नो पहिलो स्थान बनाएको छ ।
गत पुस मसान्तसम्मको तथ्याङ्क अनुसार धेरे व्यापार गर्नेको दोस्रो सूचीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । सलिकोले ६ महिनामा २ अर्ब ३४ करोड ७१ लाख ६७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । ६ महिनामा सलिकोले १ लाख ४८ हजार ९२ वटा बीमालेख बिक्री गरेको छ । मर्जरपछि कम्पनीले पनि आफ्नो व्यवसायिक हिस्सा बढाउँदै आएको छ । पुसमा मात्रै सलिकोले २५ हजार ३९९ वटा बीमालेख बिक्री गरि ३४ करोड ७४ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने १ अर्ब ९७ करोड २६ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।समिक्षा अवधि मा हिमालयन एभरेष्टले १ अर्ब ६७ करोड ७४ लाख, आइजीआई प्रुडेन्सियलले १ अर्ब ६६ करोड १२ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड २९ लाख, युनाईटेड अजोडले १ अर्ब ३० करोड ६४ लाख, एनएलजीले १ अर्ब २५ करोड ३० लाख र सानिमा जिआईसीले १ अर्ब १५ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, चालु आवको ६ महिनामा ५ वटा कम्पनीको व्यापार भने अर्ब भन्दा कम छ । समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सले ९६ करोड ९८ लाख, ओरियण्टले ९३ करोड ५१ लाख, नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख, राष्ट्रिय बीमा कम्पनीले ६९ करोड ३३ लाख र नेशनल इन्स्योरेन्सले ६१ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
