सेयर बजारमा जीवन बीमा कम्पनीको आर्कषण: २४.३९% बढ्यो लगानी, प्रभु महालक्ष्मी र आइएमईको धेरै « Arthapath.com
२१ फाल्गुन २०८०, सोमबार

सेयर बजारमा जीवन बीमा कम्पनीको आर्कषण: २४.३९% बढ्यो लगानी, प्रभु महालक्ष्मी र आइएमईको धेरै



काठमाडौं । जीवन बीमा कम्पनीहरूले सेयर बजार (सूचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयर) मा लगानी बढाएका छन् । सेयर बजारमा कम्पनीहरूले साढे दुई अर्ब लगानी बढाएका हुन् । 

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को  दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीहरूले १३ अर्ब ३ करोड ७९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा भने यस्तो लगानी २४.३९ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्ममा भने कम्पनीहरूले १० अर्ब ४८ करोड ९ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका थिए । 

हाल सञ्चालनमा रहेका १४ वटामध्ये मेट लाइफले भने लगानी गरेको छैन । एशियन, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेपाल लाइफको सेयर बजारमा लगानी घटाएका छन् । यी बाहेकका अन्य कम्पनीहरूको भने बढेको छ । 

लगानी रकमको आधारमा सबैभन्दा धेरै हिमालयन लाइफको देखिएको छ । कम्पनीले ६ महिनामा २ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । यो गत आवको पुस मसान्तसम्मको तुलनामा भने यो ७९.७७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको सेयर बजारमा १ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ लगानी गरेको थियो ।

लगानी रकमको आधारमा दोस्रो सूचीमा नेपाल लाइफ छ । कम्पनीले सेयर बजारमा २ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । तर, यो गत वर्षको तुलनामा भने २.८९ प्रतिशत कमी हो । यस्तै, तेस्रो सूचीमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब १५ करोड ९४ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेको छ।

यता, एलआइसी नेपालले पनि सेयर बजारमा १ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । समीक्षा अवधिमा सबैभन्दा एशियन लाइफको सेयर बजारमा लगानी घटेको छ । गत वर्षको तुलनामा कम्पनीले यस्तो लगानी ४१.३३ प्रतिशत घटेर ६१ करोड १२ लाख रुपैयाँ कायम भएको छ । 

अधिकांश मर्जरपछि बनेका कम्पनीहरूले बढाए धेरै लगानी, आइएमई र प्रभु महालक्ष्मी अगाडि

सेयर बजारमा लगानी बढाउन मर्जरपछि बनेका कम्पनीहरू देखिएका छन् । साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ मिलेर बनेको प्रभु महालक्ष्मीले सबैभन्दा धेरै लगानी बढाएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने ५०८.९७ प्रतिशत अर्थात् ६ गुणा वृद्धि गरी ६६ करोड ८९ लाख रुपैयाँ पुर्‍याएको छ।  

यता, आइएमई लाइफले पनि सेयर बजारमा ५.८८ गुणा लगानी बढाएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ८ करोड ९ लाख रुपैयाँ लगानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने ४८८.८५ प्रतिशत बढाएर  ४७ करोड ६६ लाख रुपैयाँ पुर्‍याएको छ । 

लगानी वृद्धिदरको आधारमा तेस्रो सूचीमा रहेको सानिमा रिलायन्सले पनि २७५.३९ प्रतिशत बढाएर १५ करोड ६९ लाख रुपैयाँ पुर्‍याएको छ ।

यस्तै, रिलायवल नेपालले ११७.४५ प्रतिशत, सूर्यज्योतिले ९०.४५ प्रतिशत, सिटिजन लाइफले ३१.०७ प्रतिशत, सन नेपालले ९५.४४ प्रतिशत, नेशनलले २.०९ प्रतिशतले लगानी सेयर बजारमा बढाएका छन्। 

कुन कम्पनीको सेयर बजारमा लगानी कति ?


प्रतिक्रिया दिनुहोस्