सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्छ, समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारबाही: अध्यक्ष सिलवाल « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्छ, समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारबाही: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने बताए । उनले सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका हुन्

नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले स्थान अनुसार बीमा सर्भेयरको सूची बनाउनुपर्ने र सर्भेका लागि सोही स्थानका सर्भेयरलाई खटाउनुपर्ने बताए ।

“बीमा सर्भेयर सङ्घले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमैं प्रतिवेदन बुझाउनुपर्छ, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छ”, उनले भने ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने स्पष्ट पारे । सोही प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सर्भेयरको इजाजतपत्र नपाएकाहरूले सर्भेयरको काम गरेमा कारवाही हुने बताए ।

कार्यक्रममा सहभागी बीमा सर्भेयरहरूले मधेश प्रदेशमा कति सर्भेयर छन् भन्ने थाहा नभएको, इजाजतपत्र लिएको दुई वर्षसम्म पनि बीमा कम्पनीहरूले काम नदिएको बताएका थिए ।

यसका साथै सर्भेयरको बर्गीकरणबाट पुराना सर्भेयरलाई मर्का पर्ने अवस्था रहेको, कम्पनीहरूमा सर्भेयरको सूचीकरणमा एकरूपता नभएको, कम्पनी आफैले र इजाजतपत्र नलिएकाहरूले पनि सर्भेयरको काम गर्ने गरेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्