नवीकरणकै भरमा चलिरहेको जीवन बीमा व्यापार, नयाँ व्यवसायमा ६ महिनापछि देखियो सुधार « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

नवीकरणकै भरमा चलिरहेको जीवन बीमा व्यापार, नयाँ व्यवसायमा ६ महिनापछि देखियो सुधार



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा सुधार देखिएको छ । ६ महिनापछि कम्पनीहरुको नयाँ व्यवसायमा सकरात्मक सुधार देखिएको हो ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।

चालु आवको ७ महिनामा १४ जीवन बीमा कम्पनीहरुले कुल १८ अर्ब ७२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । तर, यो गत वर्षको सोही अवधिको तुलनामा भने सामान्य (१.०८ प्रतिशत मात्रै ) बढी हो । आर्थिक शिथिलताका कारण कम्पनीहरुको व्यवसाय बढ्न सकिरहेको छैन् ।

चालु आवको साउनदेखि माघसम्म आइपुग्दा यस्तो व्यवसाय घटेको थियो । गत आवको तुलनामा मासिक आँकडा घटेको देखिन्छ । गत भदौदेखि नै प्रथम बीमा शुल्क आर्जन घटेको थियो । गत भदौमा ९.९५ प्रतिशत, असोजमा ५.३६ प्रतिशत घटेको देखिन्छ । चालु आवको भदौमा कम्पनीहरुले २ अर्ब ३ करोड ९२ लाख रुपैयाँ र असोजमा २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

यस्तै, गत कात्तिक महिनामा १ अर्ब ९० करोड ५८ लाख, मंसिरमा २ अर्ब ३५ करोड ५६ लाख, पुसमा २ अर्ब ८३ करोड २६ लाख र माघ महिनामा २ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । तर, गत आवको मासिक व्यवसाय भने घटेको देखिन्छ । कात्तिकमा ५.३६ प्रतिशत, मंसिर २.५४ प्रतिशत, पुसमा २.५५ प्रतिशत र माघमा १.८५ प्रतिशत गिरावट आएको थियो । तर, फागुनमा भने यस्तो रोकिएको छ । बीमा व्यवसाय बिस्तारै बढ्न थालेको देखिन्छ।

आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यापार बिस्तारै सकारात्मक रूपमा बढ्न थालेको हो । जानकारका अनुसार आर्थिक गतिविधि बिस्तारै बढ्न थालेसँगै त्यसको प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो । उल्लेख्य रूपमा बढ्न नसकेपछि बिस्तारै गति लिन थालेको बताइन्छ ।

चालु आवको आठ महिनामा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ५.१९ प्रतिशत बढी हो । समिक्षा अवधिमा कम्पनीहरुले १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । गत आवको फागुनसम्ममा भने कम्पनीहरुले १ करोड ४० लाख १ हजार ५७७ वटा बीमालेख बिक्री गरि ९३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

कुन कम्पनीको नयाँ व्यवसाय कस्तो ?

नवीकरणकै भरमा जीवन बीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुको व्यवसाय नविकरणकै भरमा चलिरहेका छन् । नयाँ व्यवसायमा खास सुधार हुन नसकेपछि कम्पनीहरु नवीकरण बीम शुल्कबाटै चलिरहेको देखिन्छ ।

चालु आवको आठ महिनामा पनि नवीकरणबाट बीमा कम्पनीहरुले कुल ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । जुन गत आवको फागुन मसान्तसम्मको तुलनामा भने ६.२० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ७५ अर्ब २० करोड ७ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण पनि नयाँ व्यवसायमा खास सुधार आउन सकिरहेको छैन । आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । क्रय शक्ति नै घटेपछि त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नवीकरण नै गर्न सकेका छैनन् । यस्ता कारण पनि नयाँ व्यवसायमा सुधार आउन नसकेको बताइन्छ।

यद्यपि, विस्तारै आर्थिक गतिविधि चलायमान हुँदै गएकाले आगाी दिनमा भने व्यवसाय बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । बैङ्कहरूको ब्याजदर पनि घट्दो क्रममा रहेको र बजार महँगी नियन्त्रण गर्न सम्बन्धित निकायले लिएको नीतिले पनि व्यवसाय बढाउन थप योगदान दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्