समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ: अध्यक्ष सिलवाल « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वसनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नुपर्ने बताए ।

नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

उनले प्रत्येक बीमा कम्पनीले गन्तव्य तय गरी सोही अनुसार नीति, रणनीति र कार्यक्रम बनाई अघि बढ्नुपर्ने उनको भनाई छ। “समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ, विगतका उपलब्धीको दिगोपनामा जोड दिनुपर्छ, सहकार्यलाई बढी प्रभावकारी बनाउनुपर्छ, सेवाको लागत घटाउन र दक्षता अभिवृद्धि गर्न व्यापकरूपमा नविनतम् प्रविधि अवलम्बन गर्नुपर्छ, कमी कमजोरीलाई दोहोरिन दिनु हुँदैन”, अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने बताए । उनले बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको जानकारी गराए ।

सोही अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले छिटोछरितो रूपमा बीमा दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहबाट नागरिकको विश्वास जित्न सकिने बताए । यसले बीमाको दायरा पनि फराकिलो हुँदै जाने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी, नेपाल बीमक सङ्घ र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष, विभिन्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतले बोलेका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्