बीमा प्राधिकरणका अध्यक्षलाई कसले हटाउन खोजेका हुन् ? « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

बीमा प्राधिकरणका अध्यक्षलाई कसले हटाउन खोजेका हुन् ?



काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्षको कार्यकालबारे पुनः एक पटक अर्थमन्त्रालयमा बहस छेडिएको छ । अर्थ मन्त्रालयका एक अधिकारीले प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालसँग ‘राजिनामा माग’ गरेका छन् ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसालले यसै साताको सुरुमा अध्यक्ष सिलवालसँग राजिनामा दिएर ‘मार्ग प्रसस्त गर्न’ भनेका थिए ।

सिलवालको कार्यकाल आगामी माघ १९ मा सकिँदै छ । ९ महिनाभन्दा कम समयमात्रै कार्यकाल बाँकी रहेका अध्यक्ष हटाउने विषयमा अर्थ मन्त्रालयले किन प्रयास गरिरहेको छ भन्ने बारे अन्योल भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

त्यसो त, यस अघि पनि सिलवाललाई अध्यक्षबाट हटाउने प्रयास भएको थियो । गत साल साउनमै उनलाई उमेर हदका व्यवस्थाबाट हटाउने प्रयास भए पनि बीमा ऐनले त्यसो गर्न नदिए पछि उनको कार्यकाल जोगिएको थियो ।

मन्त्रीपरिषदले २०७७ माघ १९ मा उनलाई तत्कालिन बीमा समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमाले नेतृत्वकाे सरकारले सिलवाललाई नियुक्त गरेकाे थियाे । शिलवाल नेपाल सरकारको पूर्व सचिव पनि हुन् । केही जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेर गृह सचिव बनेका सिलवाल हक्की स्वभावका छन् ।

यो पनि पढ्नुहोला :

उनले आफूलाई राजिनामाको प्रस्ताव आएपछि ‘अर्थ मन्त्रीसँगै कुरा गर्ने’ जवाफ फर्काएको बताएका छन् । ‘मैले राजिनामा दिएर अर्थमन्त्री जीलाई सजिलो पर्छ भने म मार्गप्रसस्त गर्न तयार छु’, उनले भने, ‘तर यसका लागि अर्थमन्त्रीले नै मलाई भन्नुपर्यो ।’

पछिल्लो समय सरकार सञ्चालनमा नेकपा एमालेको प्रवेश पछि नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणजस्ता वित्तीय क्षेत्रका नियामक निकाय प्रमुखहरुको मनोबल बढेको छ । एमाले अध्यक्ष केपी ओलीसँगै राम्रो सम्बन्ध भएका सिलवालले अहिलेको सरकारबाट यस्तो खालको प्रस्ताव आउला भन्ने अनुमान पनि गरेका थिएनन् ।

तर एक सहसचिवले उनलाई ‘मार्ग प्रसस्त गर्न’ आग्रह गरेपछि उनी चकित परेका छन् । यसपछि उनी २८ वैशाखसम्मका लागि बिदामा बसेका छन् । उनले आफ्नो पारिवारिक कामले गर्दा बिदा बस्नु परेको भनेका छन् ।

बीमा प्राधिकरणको सञ्चालक समिति :

सहसचिव रिसाल आफैँ पनि बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य छन् । एक सदस्यले आफ्नै अध्यक्षको ‘राजिनामा’ मागेपछि बीमा प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरुले पनि त्यसलाई ‘प्रक्रिया नमिलेको’ भनेर टिप्पणी गरेका छन् । प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘राजिनामा नै माग्ने हो भने मन्त्रीले मुख लुकाउनु भएन । सिधा उनैले कुरा गर्नुपर्यो ।’

ती अधिकारीले अहिलेको गठबन्धन सरकारले सिलवालको राजिनामा मागेको हो की त्यहाँ अरु कुनै ‘घुसपेठ’ भएको हो भनेर पनि बुझ्नु पर्ने बताए । तर अर्थमन्त्री वर्षमान पुनले भने अहिलेसम्म आफैँ अघि सरेर यस विषयमा कुनै टिप्पणी नगरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्