जीवन बीमा बजारः व्यवसायमा ‘सावधिक बीमा’ले ओगट्यो ३९.२% हिस्सा, बागमतीमै सिमित आधा व्यापार

काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमा योजनाको हिस्सा ठुलो छ । कुल व्यवसायमा झन्डै ४० प्रतिशत हिस्सा सावधिक जीवन बीमाको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
११ महिनामा कम्पनीहरुले कुल १ करोड ४० लाख ८९ हजार ६२२ वटा बीमालेख बिक्री गरि १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसमा सावधिक जीवन बीमा हिस्सा ३९.२ प्रतिशत छ । समिक्षा अवधिमा यो बीमा योजना अन्तर्गत २१ लाख ९ हजार १७९ वटा बीमालेख बिक्री गरि ५२ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कुल व्यवसायमा अग्रिम भुक्तानी सावधिक बीमा योजनाको हिस्सा २२.३१ प्रतिशत छ । यो बीमा योजना अन्तर्गत ४ लाख ४६ हजार ६५४ वटा बीमालेख बिक्री भएको छ । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले २९ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
तेस्रो ठुलो हिस्सा रहेको बालबच्चा सम्वन्धि सावधिक बीमा योजना मार्फत २० अर्ब ६८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ११ महिनामा यस्तो बीमा योजना अन्तर्गत ९ लाख ८५ हजार ७४२ वटा बीमालेख बिक्री गरेका छन् । कुल व्यवसाय बालबच्चा सम्वन्धि सावधिक बीमा योजनाको योगदान १५.४७ प्रतिशत छ ।
यस्तै, रुपान्तरिक सावधिक योजना मार्फत ५ लाख ३३ हजार ६५५ वटा बीमालेख बिक्री बाट १७ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ। कुल व्यसायमा यस्तो बीमाको योगदान १३.३५ प्रतिशत छ ।
यस्तै, आजिवन जीवन बीमा योजनाको योगदान २.८१ प्रतिशत, वैदेशिक रोजगारी म्यादी जीवन बीमाको २.१५ प्रतिशत, लघु जीवन बीमाको १.८६ प्रतिशत, एकल बीमा शुल्क जीवन बीमाको १.७९ र म्यादी जीवन बीमाकोभने १.०६ प्रतिशत छ।

बागमतीमै केन्द्रित जीवन बीमा व्यापार, कुन प्रदेशको योगदान कति ?
जीवन बीमा व्यवसाय बागमती प्रदेशमै सिमित देखिएको छ । कुल व्यवसायमा झन्डै आधा हिस्सा बागमतीले ओगटेको छ ।
बागमती प्रदेशबाट मात्रै कम्पनीहरुले ४४.०५ प्रतिशत व्यवसाय गरेका छन् । ११ महिनाको अवधिमा सो प्रदेश मार्फत कम्पनीहरुले १ करोड ९४ हजार ४७१ वटा बीमालेख बिक्री गरि कुल ५८ अर्ब ९२ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
दोस्रो ठुला हिस्सा रहेको लुम्बिनी प्रदेश मार्फत कम्पनीहरुले २१ अर्ब ९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ११ महिनामा सो प्रदेशमा कम्पनीहरुले ९ लाख ९४ हजार ९३७ वटा बीमालेख बिक्री गरेका छन् । लुम्बिनीको कुल व्यवसायमा १५.७७ प्रतिशत योगदान छ ।
यस्तै, १२.१७ प्रतिशत योगदान रहेको कोशी प्रदेश मार्फत कम्पनीहरुले ११ लाख ५३ हजार ४७४ वटा बीमालेख बिक्री गरि १६ अर्ब २७ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, गण्डकी प्रदेशको हिस्सा १०.२१ प्रतिशत र मधेश प्रदेशको ९.०६ प्रतिशत छ । समिक्षा अवधिमा गण्डकी प्रदेशमा कम्पनीहरुले कुल १३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ र मधेशमा १२ अर्ब ११ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरि सुदुरपश्चिम प्रदेशमा ८ अर्ब ८ करोड ६२ लाख र कर्णाली प्रदेश मार्फत ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएका छन् । कुल व्यवसायमा यी दुई प्रदेशको योगदान क्रमशः ६.०४ प्रतिशत र २.७ प्रतिशत छ ।
