नयाँ व्यवसाय भित्र्याउन नेशनल र एशियन लाइफ तगडा, नेपाल लाइफको वर्चश्व कायमै, ५ वटाको घट्यो « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

नयाँ व्यवसाय भित्र्याउन नेशनल र एशियन लाइफ तगडा, नेपाल लाइफको वर्चश्व कायमै, ५ वटाको घट्यो



काठमाडौं । जीवन बीमा व्यापार क्रमिक रुपमा सुधार हुँदै छ । अघिल्लो वर्षहरुको आर्थिक शिथिलताले सुस्ताएको जीवन बीमा व्यापार पछिल्लो समय निरन्तर बढ्न थालेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा व्यापार १० प्रतिशत बढेर १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा भने कम्पनीहरुले १ खर्ब २७ अर्ब ४६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा कम्पनीहरुले नकिवरण मार्फत १ अर्ब २२ करोड ४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा ९.८४ प्रतिशत बढी हो ।

यता, कम्पनीहरुको नयाँ व्यापार (प्रथम बीमा शुल्क आर्जन) पनि बढेको छ । गत आवमा कम्पनीहरुले कुल ३४ अर्ब २७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा ९.७० प्रतिशत बढी हो । अघिल्ला आवभर कम्पनीहरुले ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ बराबरको नयाँ व्यापार भित्र्याएका थिए ।

प्राधिकरणका अनुसार अधिकांश कम्पनीहरुले नयाँ व्यापार बढाएता पनि पाँच वटाको भने घटेको छ। हाल संचालनमा रहेका १४ वटा ठुला जीवन बीमा कम्पनीमध्ये ९ वटाले नयाँ व्यापार बढाएका छन् ।

समिक्षा वर्षमा सबैभन्दा धेरै नेशनल लाइफले बढाएको छ । नेशनल लाइफ नयाँ व्यापार भित्र्र्याउन तगडा देखिएको छ । गत वर्ष कम्पनीको प्रथम बीमा शुल्क ३०.५८ प्रतिशत बढेर ५ अर्ब ५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा भने कम्पनीले ३ अर्ब ८७ करोड बराबरको मात्रै नयाँ व्यवसाय गरेको थियो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै व्यापार भने नेपाल लाइफले गरेको छ। समिक्षा अवधिमा कम्पनीको नयाँ व्यापार २०.९९ प्रतिशत बढेर ७ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा पनि कम्पनीले कुल ६ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा नेपाल लाइफ र नेशनल लाइफले कुल ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

नयाँ व्यावसाय भित्र्याउन एशियन लाइफ पनि अगाडि देखिएको छ । गत आवमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २४.८५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, हिमालयन लाइफको नयाँ व्यापार पनि १२.५६ प्रतिशत बढेर २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीले कुल २ अर्ब २८ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।

यता, आइएमई लाइफको नयाँ व्यापार पनि दोहोरो अंकले बढेको छ । गत आवमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११.७८ प्रतिशत बढेर १ अर्ब ६० करोड २१ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार मेट लाइफको प्रथम बीमा शुल्क आर्जन पनि ४.२६ प्रतिशत बढेर १ अर्ब ३० करोड २९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको तुलनामा सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफको प्रथम बीमा शुल्क आर्जन भने सामान्य बढेको छ। गत वर्ष कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन क्रमशः ०.९३ प्रतिशत ०.६० प्रतिशत बढेर १ अर्ब ९६ करोड १५ लाख रुपैयाँ र १ करोड ८७ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

राष्ट्रिय जीवन बीमासहित पाँच वटा नयाँ व्यवसाय घट्यो

गत वर्ष राष्ट्रिय बीमासहित पाँच वटा कम्पनीहरुको नयाँ व्यवसाय घटेको छ । गत वर्ष सबैभन्दा धेरै राष्ट्रिय जीवन बीमा कम्पनीको २०.४८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले ९५ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शूल्क आर्जन गरेको थियो । तर, गत वर्ष भने ७५ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।

प्राधिकरणकाअनुसार सन नेपाल लाइफको नयाँ व्यापारमा पनि ११.३८ प्रतिशत गिरावट आएको छ । अघिल्लो आवमा सन नेपालले १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । तर, गत आवमा भने कम्पनीको यस्तो बीमा शुल्क १ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।

यस्तै, सूर्यज्योति लाइफको नयाँ व्यापार ६.८९ प्रतिशत घटेर २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ४.४८ घटेर १ अर्ब ९ करोड ६० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यी दुई कम्पनीले २ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ र १ अर्ब १५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । गत वर्ष रिलायवल नेपाल लाइफको नयाँ व्यावसाय २.०५ प्रतिशत घटेर १ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्