निर्जीवन बीमा व्यवसायः मोटर बीमाबाट मात्रै ३०% प्रिमियम कलेक्सन, झन्डै ६७% व्यापार बागमतीमै सिमित « Arthapath.com
२० श्रावण २०८१, आईतवार

निर्जीवन बीमा व्यवसायः मोटर बीमाबाट मात्रै ३०% प्रिमियम कलेक्सन, झन्डै ६७% व्यापार बागमतीमै सिमित



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सर्वाधिक छ । कुल व्यवसायमा मोटर बीमाले ३० प्रतिशत योगदान दिएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । प्राधिकरणका लागि अनुसार गत वर्ष हाल संचालनमा रहेको ठुला निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

एक वर्षमा कम्पनीहरुले कुल २९ लाख ७७ हजार ११६ वटा बीमालेख बिक्री गरेका हुन् । कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३०.३ प्रतिशत छ । गत वर्ष कम्पनीहरुले सबैभन्दा ठुलो व्यावसाय मोटर बीमा मार्फत नै गरेका छन् । प्राधिकरणका अनुसार कुल १६ लाख ४५ हजार ९०६ वटा बीमालेख बिक्रीबाट कम्पनीहरुले १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ बीमालेख संकलन गरेका हुन् ।

कम्पनीहरुले सम्पत्ति बीमा मार्फत पनि ठुलै व्यवसाय गर्दै आएका छन् । गत वर्षमा पनि कुल व्यवसायमा सम्पत्ति बीमाको योगदान २४.९१ प्रतिशत छ । एक वर्षमा ४ लाख ९७ हजार ४४२ वटा सम्पत्ति बीमालेख बिक्री भएको छ । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा मार्फत पनि ७ अर्ब १० करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको १७.१३ प्रतिशत हुन आउँछ । एक वर्षमा कम्पनीहरुले ३२ हजार ९७७ वटा इन्जिनियरिङ्ग बीमालेख बिक्री गरेका हुन् ।

प्राधिकरणका अनुसार विविध बीमा मार्फत कुल ४ अर्ब ५१ करोड ४८ लाख, हवाई बीमा मार्फत २ अर्ब ६० करोड ७६ लाख, सामून्द्रिक बीमा मार्फत १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कुल व्यवसायमा यीनीहरुको क्रमशः १०.८९ प्रतिशत, ६.२९ प्रतिशत, ५.०३ प्रतिशत, ४.७ प्रतिशत योगदान छ । यस्तै, लघुबीमाको योगदान ०.७५ प्रतिशत मात्रै छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

झन्डै ६७ प्रतिशत व्यवसाय बागमती प्रदेशबाट, अन्य कुन प्रदेशको बजार हिस्सा कति ?

निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशले आधा भन्दा धेरै हिस्सा ओगटेको छ। कुल व्यवसायमा ६६.७१ प्रतिशत बागमती प्रदेशमै सिमित भएको छ । बागमती प्रदेशबाट कम्पनीहरुले कुल २७ अर्ब ६६ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बागमती प्रदेशमा कम्पनीहरुले १२ लाख ७९ हजार ५३६ वटा बीमालेख बिक्री गरेका छन् ।

गत वर्ष लुम्बिनी प्रदेशबाट भने कुल ३ अर्ब ६५ करोड २९ लाख रुपैयाँ, कोशी प्रदेशबाट ३ अर्ब ५६ करोड ४५ लाख, मधेशबाट २ अर्ब ६६ करोड ६ लाख, गण्डकीबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यता, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ५ करोड २६ लाख र कर्णालीबाट ६८ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्