१४ अर्बले बढ्यो जीवन बीमा व्यवसाय: व्यापार ग्रोथमा प्रभू महालक्ष्मी, नेशनल र एशियन तगडा
काठमाडौं । जीवन बीमा व्यापारमा बढोत्तरी देखिएको छ । आर्थिक शिथिलताले सुस्ताएको जीवन बीमा व्यापारमा सुधार आएको हो ।
हाल संचालनमा रहेका १४ वटै ठुला जीवन बीमा कम्पनीहरुले झन्डै १४ अर्ब बराबरको व्यवसाय बढाएका हुन् । औसत ९.८१ प्रतिशत व्यापार बढेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को असार मसान्तसम्मको तथ्याङ्क यस्तो देखाएको हो । गत आवमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने ९.८१ प्रतिशत अर्थात् १३ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
कम्पनीहरुले गत वर्ष ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नविकरण मार्फत भने १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्ष कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख बिक्री गरेका छन् ।
आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यवसायमा क्रमिक सुधार हुँदै गएको देखिन्छ । विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ । आम मानिसहरु पनि बीमाप्रति आकर्षित भईरहेका छन् । बीमाको महत्व र आवश्यकता बुझ्दै गएकाले पनि समग्र व्यापार बढ्न पुगेको बताइन्छ ।
व्यापारमा नेपाल लाइफकै वर्चश्व, ग्रोथमा तगडा देखिए प्रभू महालक्ष्मी र नेशनल लाइफ
जीवन बीमा व्यापारमा नेपाल लाइफकै वर्चश्व देखिएको छ । गत आवमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.८८ प्रतिशत बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कुल व्यवसायमा नेपाल लाइफको २६.१३ प्रतिशत योगदान छ।
नेपाल लाइफपछि दोस्रो ठुलो व्यापार नेशनल लाइफको छ । गत वर्ष नेशनल लाइफले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा भने १६.८७ प्रतिशत बढी हो । अघिल्लो आवको साउनदेखि असार मसान्तसम्ममा कम्पनीले १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । व्यापार ग्रोथमा पनि नेशनल लाइफ दोस्रो पोजिशनमा छ ।
तेस्रो ठुलो व्यापार गर्ने एलआइसी नेपालले पनि गत वर्ष १८ करोड १० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यता, हिमालयन लाइफले पनि १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । यो अघिल्लो आवको तुलनामा भने ११.५ प्रतिशत बढी हो । हिमालयन लाइन व्यापारको आधारमा चौंथो सूचीमा छ।
व्यापार बढाउन भने प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स पहिलो सूचीमा छ । कम्पनीले आफ्नो व्यवसाय गत वर्ष १९.४८ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुर्याएको छ। यस्तै, एशियन लाइफले पनि १४.७९ प्रतिशत बढाएर ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष आइएमई लाइफको व्यापार पनि १३.३ प्रतिशत बढेर ४ अर्ब ७४ करोड १३ लाख रुपौयँ कायम भएको छ। यता, रिलायवल नेपाल लाइफको व्यवसाय वृद्धिदर पनि दोहोरो अंकमै (१०.८८ प्रतिशत) बढेको छ। गत वर्ष कम्पनीले ४ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
गत आवमो सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४८ लाख, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख मेट लाइफले ५ अर्ब ६७ करोड ८९ लाख र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गर्न सकेछन् ।
कसको व्यापार कस्तो ?

स्रोतः नेपाल बीमा प्राधिकरण















