नेपाल पुनर्बीमा र हिमालयन रिले एकैवर्ष थपे साढे ८ अर्ब लगानी, कुन क्षेत्रमा कसको कति लगानी ?
काठमाडौं । हाल नेपालमा संचालित दुई पुनर्बीमा कम्पनीहरुले एकै वर्ष साढे ८ अर्ब लगानी बढाएका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको क्षेत्रगत लगानीको विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा ८ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ लगानी बढाएका हुन् । योसँगै यी दुई कम्पनीको कुल लगानी ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा भने २८.६५ प्रतिशत बढी हो ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
गत आवमा आइपुग्दा नेपाल पुनर्बीमा कम्पनीको कुल २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ र हिमालय रिइन्स्योरेन्सको १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ ।
कम्पनीहरुको सबैभन्दा ठुलो लगानी बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ । कुल लगानीको ७५ प्रतिशत बढी हिस्सा बैंकको मुद्दति निक्षेप राखेका छन् । कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २९ अर्ब १३ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल रिको १५ अर्ब ५४ करोड ३१ लाख र हिमालय रिको १३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ छ ।
यस्तै, विकास बैंकहरुमा पनि नेपाल रिको १ अर्ब ८६ करोड ७६ लाख र हिमालयन रिको १५ करोड गरि कुल २ अर्ब १ करोड ७६ लाख रुपैयाँ राखेका छन् । यता, वित्त कम्पनीहरुमा भने नेपाल रिले मात्रै १० करोड लगानी गरेको छ ।
तर, कम्पनीहरुले घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत वीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने लगानी गरेका छैनन् ।
यता, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्र भने ३ अर्ब ५ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तो क्षेत्रमा नेपाल रिले १ अर्ब ७२ करोड ६३ लाख र हिमालयन रिले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ लगानी छ ।
यस्तै, नागरिक लगानी कोष र म्युचुअल फन्डमा नेपाल रिको ५ करोड ९ लाख र हिमालयन रिको ४ करोड गरि कुल ९ करोड ९ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा हिमलायन रिको मात्रै ९० करोड र अन्य संस्थापक सेयरमा भने ७६ करोड ६६ लाख रुपैयाँ लगानी छ ।