निर्जीवन बीमा व्यवसाय: सम्पत्तिको बीमा गराउनेहरु बढ्न थाले, कुल व्यापारमा ३३ प्रतिशत हिस्सा, कुनको कति ? « Arthapath.com
१९ भाद्र २०८१, बुधबार

निर्जीवन बीमा व्यवसाय: सम्पत्तिको बीमा गराउनेहरु बढ्न थाले, कुल व्यापारमा ३३ प्रतिशत हिस्सा, कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय आधा दर्जन बढी क्षेत्रहरुमा छन् । तीमध्ये सबैभन्दा धेरै व्यावसाय भने मोटर र सम्पत्ति बीमामा देखिन्छ ।

कुल व्यापारमा एकतिहाई हिस्सा त मोटर बीमाले नै ओगट्ने गरेको छ । पछिल्लो समय भने सम्पत्ति र मोटर बीमाले निर्जीवन बीमा व्यवसाय धानेका छन् । कुल व्यापारमा यी दुई बीमाको हिस्सा ६१ प्रतिशत बढी हुन आउँछ ।

चालु आर्थिक वर्ष २०८१-८२ को साउनमा भने सर्वाधिक व्यापार सम्पत्ति बीमाको देखिएको छ । कुल व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३३ प्रतिशत देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । कम्पनीहरुले एकै महिना २ लाख ४१ हजार ३१४ बीमालेख बिक्री गरि सो बराबरको व्यवसाय भित्र्याएका हुन् । यसमा सम्पत्ति बीमाको ३३ प्रतिशत योगदान छ । सम्पत्ति बीमा मार्फत कम्पनीहरुले ४२ हजार ७३८ वटा बीमालेख बिक्री गरि १ अर्ब ४२ करोड ७९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रायः सर्वाधिक हिस्सा ओगट्ने मोटर बीमा भने साउनमा दोस्रो स्थानमा पुगेको छ । साउनमा मोटर बीमा मार्फत कम्पनीहरुले कुल १ लाख १२ हजार ८६५ वटा बीमालेख बिक्री गरि १ अर्ब २२ करोड ३७ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा मोटर बीमाको योगदान २८ प्रतिशत देखिएको छ ।

यस्तै, विविध बीमाको योगदान १३ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का बीमाको योगदान १२ प्रतिशत छ । साउनमा यी दुई बीमा मार्फत कम्पनीहरुले क्रमशः ५५ करोड ६४ लाख ७१ हजार र ५० करोड २८ लाख २२ हजार रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन् । साउनमा विविध बीमालेख १४ हजार ६४८ वटा र इन्जिनियरिङ्ग १ हजार ३५७ वटा बिक्री भएका छन् ।

यस्तै, सामून्द्रिक बीमाको योगदान ७ प्रतिशत, कृषि तथा बाली बीमाको ५ प्रतिशत, लघुबीमा र हवाई बीमाको योगदान भने १-१ प्रतिशत छ ।

६९ प्रतिशत व्यवसाय बागमती प्रदेशमै सिमित

आधा भन्दा धेरै व्यवसाय बागमती प्रदेशमै सिमित देखिएको छ । कुल व्यवसायमा बागमती प्रदेशको हिस्सा ६९ प्रतिशत देखिएको छ । साउन महिनामा कम्पनीहरुले बागमती प्रदेशबाट २ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । सो प्रदेशमा कम्पनीहरुले कुल १ लाख १३ हजार १७९ वटा बीमालेख बिक्री गरेका हुन् ।

यस्तै, लुम्बिनी र कोशी प्रदेशको हिस्सा ८/८ प्रतिशत देखिएको छ । साउनमा यी दुई प्रदेशमा कम्पनीहरुले ३५ करोड ८ लाख र ३३ करोड ६९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

यता, मधेश प्रदेशको ७ प्रतिशत, गण्डकीको ५ प्रतिशत, सुदुरपश्चिमको २ प्रतिशत र कर्णालीको १ प्रतिशत योगदान छ । साउनमा यी प्रदेशबाट कम्पनीहरुले क्रमशः ३० करोड ३० लाख, २३ करोड ३८ लाख, ७ करोड ३७ लाख र २ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्