दैनिक दुई कप चियाको पैसा जोगाउने हो भने बीमा गर्न पुग्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुने बताए ।
मंगलबार मधेश प्रदेशको जनकपुरधाममा प्राधिकरणद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । सिलवाले दैनिक दुई कप चियाको पैसा छुट्याए बीमा गर्न पुग्ने बताए ।
उनले भने, ‘बीमा जटिल विषय होइन् । दैनिक दुई कप चिया घटाउने हो, भने त्यसको पैसाले बीमा गर्न पुग्छ ।’ बीमाको बारेमा सबैले बुझ्न आवश्यक रहेको उनको भनाई छ । अब अनुदानलाई बीमामा रुपान्तरण गर्नुपर्ने बताए ।
‘बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो, अब अनुदानलाई बीमामा रूपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ’, सिलवालले भने ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन दुई करोड छुट्याएको जानकारी गराएका थिए । उनले अन्य प्रदेशमा शुरू गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए ।
मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उनले बताए । बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
सोही अवसरमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्रदेश बीमा नीतिको आवश्यक रहेको बताए । उनले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता औल्याए । बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती समेत गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।