‘विदेशी कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, सत्य तथ्य लुकाएर गरिएको बीमाको दाबी लाग्दैन’ « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

‘विदेशी कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, सत्य तथ्य लुकाएर गरिएको बीमाको दाबी लाग्दैन’



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सत्यतथ्य लुकाएर गरेको बीमाको दावी नलाग्ने बताएका छन् ।

प्राधिकरणद्वारा आयोजित मधेश प्रदेशका आर्थिक पत्रकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे । अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गरे ।

बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्ने बताए । उनले भने विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी रहेको बताए । उनले भने,‘झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनु पर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन ।’

सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने बताए । त्यसबाट उनीहरूको कल्याण हुने उल्लेख गर्दै उनले भने,‘बीमा कम्पनीहरू ऐन, नियम बमोजिम चल्नुपर्छ, जवाफदेही बन्नुपर्छ, ऐन, नियम विपरित जाने कम्पनीहरूले दण्ड सजायँ भोग्नुपर्छ ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोल अनुसार बीमालेख ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने बताए ।

सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले संचार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा व्यक्त गरेका थिए । उनीहरुले दावी भुक्तानीलाई सहज बनाउन जोड दिए ।

उनीहरुले भने,‘बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेका छन् । कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस्