वीरगञ्ज महानगरसँग बीमा प्राधिकरणको अन्तरक्रिया, बीमकको प्रतिवद्धता कार्यान्वयनमा जोड « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

वीरगञ्ज महानगरसँग बीमा प्राधिकरणको अन्तरक्रिया, बीमकको प्रतिवद्धता कार्यान्वयनमा जोड



काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार मधेश प्रदेशमा ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने बताए । बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका कुराहरू कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

सोही अवसरमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्नपाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिए । अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्