बीमादर हेरफेर गर्न उद्योगीहरुको सुझाव, थप अध्ययन गरि समाधान निकाल्ने प्राधिकरणको आश्वासन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा ‘फ्रड क्लेम’ को समस्या देखिएको बताए ।
प्राधिकरणद्वारा आयोजित वीरगञ्ज उद्योग वाणिज्य संघसँग ‘बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम’ मा उनले यस्तो बताएका हुन् । फ्रड क्लेमको समस्या देखिए पनि त्यसको समाधानका लागि निरन्तर कार्य भइरहेको अध्यक्ष सिलवालले बताए ।
उनले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक बताए । विस्तृत अध्ययन गरी समाधान निकालिने उनको भनाई थियो ।
सोही अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योगहरुका लागि एउटै बीमादर व्यवस्था हटाउनुपर्ने बताए । उनले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने बताए । यसका साथै बीमा कम्पनीहरू पारदर्शी हनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हने गरेको बताए । कोरोना बीमाको बाँकी दावी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको उनको धारणा थियो ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मोटरबीमा निर्देशिका परिमार्जनको क्रममा रहेको बताए । साथै व्यापार तथा निर्माणकाका सम्बन्धमा अध्ययन भइरहेको जानकारी गराए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।