बीमा कम्पनीको बोनस दर : कुनमा बीमा गर्दा कति पाइन्छ ? « Arthapath.com
३० भाद्र २०८१, आईतवार

बीमा कम्पनीको बोनस दर : कुनमा बीमा गर्दा कति पाइन्छ ?



काठमाडौं । एक दर्जन जीवन बीमा कम्पनीहरुले बोनस दर घोषणा गरेका छन् । संचालनमा रहेका मध्ये १३ वटा कम्पनीहरुले बोनस दर सार्वजनिक गरेका हुन् ।

कम्पनीहरुले आव २०७९–८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् ।

मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन मार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नुपर्दछ ।

हाल साविकका प्रभु लाइफ र महालक्ष्मी लाइफ, एलआइसी नेपाल, नेपाल लाइफ, नेशनल, सूर्यज्योति, सन नेपाल, रिलयावल नेपाल, आइएमई, मेट, सिटिजन, एशियन लाइफले बोनस दर प्रकाशन गरेका हुन् ।

बोनसदर प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनसदर फरक–फरक हुनसक्छ । प्राधिकरणका अनुसार कम्पनीहरुले न्युनतम १९ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर तोकेका छन् । बोनसदर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन ।

बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् । बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ ।

सूर्यज्योति लाइफ: सूर्यज्योति लाइफले आफ्ना बीमितलाई दिने बोनस दर अन्य कम्पनीको तुलनामा धेरै देखिएको छ । कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले विभिन्न बीमालेखको अवधि अनुसार फरक–फरक बोनसदर कायम गरेको छ ।

नेपाल लाइफः नेपाल लाइफले पनि न्युनतम ५० देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले अघिल्लो आव २०७९–८० सो बराबरको बोनस दर तोकेको हो ।

नेशनल लाइफः नेशनल लाइफले पनि आफ्ना बीमितलाई प्रदान गर्ने बोनस दर तोकेको छ । कम्पनीले न्युतम ६३ देखि ८५ रुपैयाँसम्म बोनस दर तोकेको हो । कम्पनीले हाल सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन, अग्रिम भुक्तानी सावधिक बीमालेखमा अवधि अनुसारको फरक–फरक बोनसरदर निर्धारण गरेको छ ।

मेट लाइफः मेट लाइफले पनि आफ्ना बीमितलाई न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर तोकेको छ ।

आइएमई लाइफः आइएमई लाइफले आफ्ना बीमितलाई विभिन्न बीमालेखमा न्युनतम २२ रुपैयाँ बोनस दर तोकेको छ । कम्पनीले अधिकतम भने ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो ।

सिटिजन लाइफः सिटिजन लाइफ इन्स्योरेन्सले पनि न्युनतम २५ देखि बोनस दर दिने भएको छ । अधिकतममा भने कम्पनीले ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको हो ।

सन नेपाल लाइफः सन नेपाल लाइफले पनि आफ्ना बीमितलाई न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने भएको हो ।

रिलायवल नेपालः रिलयावल नेपाल लाइफले पनि बीमितलाई अघिल्लो आवमा प्रदान गर्ने बोनस दर कायम गरेको छ। कम्पनीले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर तोकेको छ ।

सानिमा रिलायन्सः साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मिलेर बनेको सानिमा रिलायन्सले पनि बीमितलाई प्रदान गर्ने बोनस दर तोकेको छ । कम्पनीले विभिन्न बीमालेखमा न्युनतम १९ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो ।

साविकको प्रभु र महालक्ष्मी लाइफः साविकका प्रभु लाइफ र महलाक्ष्मी लाइफले पनि छुट्टाछुट्ट्ै बीमालेखमा अवधि अनुसारको बोनस दर घोषणा गरेको छ । साविकको प्रभु लाइफले न्युनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म र महालक्ष्मी लाइफले भने न्युनतम ३२ रुपैयाँदेखि अधितम ५५ रुपैयाँसम्म बोनस दर तोकेको छ ।

एलआइसी नेपालः लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि आफ्ना बीमितलाई प्रदान गर्ने बोनस दर निर्धारण गरेको छ । कम्पनीले विभिन्न बीमालेखमा अवधि अनुसार न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर तोकेको हो ।

कुन कम्पनीले कति तोके बोनस दर विस्तृतमा हेर्न हुर्नहोस्:

bonus-rate-of-life-insurance


प्रतिक्रिया दिनुहोस्