कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता, अब सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने
काठमाडौं । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीबीच सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
ट्रष्ट माइक्रोसँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् ।
लघु बीमा विशेषगरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरुबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरुलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस् भएको क्षतीलाई पूनः प्राप्ति गर्न मद्दत दिलाउँछ ।
ट्रष्ट माइक्रोले नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै भएको छ । हाल कम्पनीको ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तैगरि विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।


















