बाढी पहिरो कहर: बीमा दावी शीघ्र भुक्तानीका लागि प्राधिकरणको निर्देशन « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

बाढी पहिरो कहर: बीमा दावी शीघ्र भुक्तानीका लागि प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी गर्न बीमकहरुलाई निर्देशन दिएका छन् ।

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।

बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी (सीयओ)हरुसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।

अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने जानकारी गराए ।

अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने सिलवालले जानकारी गराए ।

अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुन सक्ने भएकाले त्यसतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू धमाधम आउन थालेको जानकारी गराएका थिए ।

साथै हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्