झन्डै ११ प्रतिशत बढ्यो निर्जीवन बीमा व्यापार, नयाँ व्यवसायमा बढाउन तातिए जीवन बीमा कम्पनी
काठमाडौं । आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यवसायमा क्रमिक सुधार देखिएको छ । पछिल्लो जीवन तथा निर्जीवन बीमा व्यवसाय दुवै बढेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउन र भदौ महिनामा बीमा व्यवसाय समग्रमा ४.९७ प्रतिशत वृद्धि भएको छ ।
गत वर्षको साउन र भदौमा लघु तथा ठुला बीमा कम्पनीहरुले कुल ३६ अर्ब २१ करोड ६४ लाख ३४ हजार रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने ३८ अर्ब १ करोड ४९ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
आर्थिक शिथिलताको कारण प्रभावित बीमा व्यवसाय पछिल्लो समय क्रमिक रुपमा सुधार देखिन थालेको छ । आर्थिक गतिविधिमा आएको सुधारले नै व्यवसाय सकरात्मक देखिएको छ । आर्थिक शिथिलताका कारण बीमा कम्पनीहरुको व्यवसायमा खास सुधार आउन सकिरहेको थिएन । तर, पछिल्लो समय भने विस्तारै बढ्न थालेको देखिन्छ ।
व्यवसाय बढाउन निर्जीवन बीमा कम्पनीहरु तगडा देखिएका छन् । समिक्षा अवधिमा १४ वटा ठुला र ४ वटा लघु निर्जीवन कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख ६९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको भदौ मसान्तसम्मको तुलनामा १०.८९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार निर्जीवन बीमालेख बिक्री १५ प्रतिशत वृद्धि भएको छ । गत आवको भदौ मसान्तसम्ममा कम्पनीहरुले ४ लाख ९ हजार ८० वटा निजीवन बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने बढेर ४ लाख ७० हजार ५१४ वटा बीमालेख बिक्री गरेका छन् ।
निर्जीवन बीमा व्यवसायमा दोहोरो अंकले वृद्धि भएता पनि जीवन बीमा व्यवसाय भने सामान्य बढेको छ । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले (लघु बीमा समेत) ३० अर्ब १५ करोड ७८ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने ३.५२ प्रतिशत बढी हो । गत आवका भदौ मसान्तसम्ममा २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । हाल १ करोड ३७ लाख ८४ हजार ८८ वटा जीवन बीमालेख सक्रिय छ ।
समिक्षा अवधिमा सक्रिय बीमालेखको संख्या पनि २.४६ प्रतिशत वृद्धि भएको हो । जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय जो निकै जोड दिएको देखिन्छ । समिक्षा अवधिमा नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन ३१.१९ प्रतिशत वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तसम्म कम्पनीहरुले ४ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ५ अर्ब ६८ करोड ९४ लाख १९ हजार रुपैयाँ आर्जन गरेका छन् ।
नयाँ व्यवसायमा आकर्षक बढोत्तरी गरेका कम्पनीहरुको नविकरण बीमा शुल्कमा भने सामान्य गिरावट आएको छ । नविकरण जीवन बीमा शुल्क आर्जन १.३१ प्रतिशत घटेर २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । गत आवको भदौ मसान्तसम्ममा पनि कम्पनीहरुले यस्तो बीमा शुल्क २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।