दुई महिनामै १९ हजार बिमितले गरे साढे दुई अर्ब बढीको बीमा पोलिसी सरेन्डर, कुन कम्पनीले कति फिर्ता गरे ?
काठमाडौं । दुई महिनाको अवधिमा नै साढे २ अर्ब बढीको बीमालेख सरेन्डर भएको छ । बीमा योजना परिपक्क हुने समयावधि नसकिँदै सरेन्डर गर्ने जीवन बीमालेख र त्यसको रकम बढ्दो नै देखिएको छ ।
दुई महिनामा बीमितले १९ हजार बढी बीमालेख बन्द गराएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउन र भदौ महिनामा मात्रै २ अर्ब ७५करोड ३२ लाख २२ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । सो दुई महिनामा बीमितले १९ हजार ७४१ वटा बीमालेख त्यागेका छन् । गत साउनमा मात्रै १४ वटा जीवन बीमा कम्पनीमा डेढ अर्ब रुपैयाँ बराबरको सरेन्डर भएको थियो ।
साउनमा १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको १० हजार २९२ वटा बीमालेख त्यागेका थिए । भदौ महिनामा भने केही नियन्त्रण भएको देखिन्छ । भदौमा १ अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख सरेन्डर भएका छन् ।
दुई महिनामा कम्पनीहरुको कुल व्यवसायको ९.१५ प्रतिशत अनुपातमा सरेन्डर भएको देखिन्छ । प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा ठुला जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
आर्थिक शिथिलताका कारण पनि बीमालेख त्याग्ने क्रम नरोकिएको पाइन्छ । बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ ।
तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ । हाल प्राधिकरणले ३ वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेको छ।
नेपाल लाइफ र एलआइसी नेपालका बीमितले त्यागे सबैभन्दा धेरै पोलिसी, अन्य कुनको कति ?
चालु आवको दुई महिनाको तथ्याङ्क अनुसार नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी ) नेपालको उच्च देखिएको छ ।
भदौ मसान्तसम्ममा एलआइसी नेपालको ८७ करोड १५ लाख ५८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । कम्पनीमा दुई महिनामै ५ हजार २२३ वटा पोलिसी बन्द भएका छन् । कुल सरेन्डरमा एलआइसीको ३१.६५ प्रतिशत हुन आउँछ ।
यता, नेपाल लाइफको पनि ८१ करोड ५३ लाख २३ हजार रुपैयाँ बराबरको ४ हजार ७९९ वटा बीमालेख सरेन्डर भएका छन् । कुल सरेन्डरमा नेपाल लाइफको २९.६१ प्रतिशत हुन् आउँछ ।
यस्तै, एशियन लाइफको पनि २१ करोड ५१ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड ४६ लाख, नेशनल लाइफको १४ करोड ७२ लाख, सूर्यज्योतिको १३ करोड २४ लाख, हिमालयन लाइफको १२ करोड ८० लाख रुपैयाँ बराबरको सरेन्डर भएको छ । यी कम्पनीमा क्रमशः १ हजार ८६० वटा, १ हजार ७७७, ९४७, १ हजार १६८ र १ हजार ४३६ वटा बीमालेख बीमितले त्यागेका छन् ।
त्यसैगरि मेट लाइफको ७क रोड १५ लाख, सानिमा रिलायन्सको ५ करोड ८६ लाख, आइएमई लाइफको ३ करोड ९९ लाख, सिटिजन लाइफको २ करोड ८८ लाख, प्रभु महालक्ष्मीको २ करोड ६६ लाख, रिलायवल नेपाल लाइफको २ करोड १६ लाख र सन नेपाल लाइफको १ करोड १४ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ ।