किन स्थगित भयो बीमा प्राधिकरणको आयोजनामा हुने भनिएको एएफआईआरको सम्मेलन ?
काठमाडौं । काठमाडौंमा आयोजना हुने भनिएको एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआईआर) को बैठक तथा वार्षिक सम्मलेख स्थगति भएको छ ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा अगामी असोज २१ गते सोमबारदेखि २३ गते बुधवारसम्म सम्मलेख हुने भनिएको थियो । तर, हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भन्दै हाललाई स्थगित गरिएको हो ।
एएफआइआरको सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको भएको प्राधिकरणका प्रवक्ता सुशीलदेवख सुवेदीले जानकारी दिए । उनका अनुसार विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको हो ।
तर, असोज २३ गतेका लागि तय भएको एएफआइआरको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन हुनेछ ।
एएफआइआरकाको सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने प्राधिकरणले जनाएको छ ।