प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित, हकप्रद सेयर जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आज (असोज २३ गते बुधबार) कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पुर्याउन ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।